सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा अस्पतालमा पहिलोपटक ल्याप्रोस्कोपिक विधिबाट पित्तथैलीको पत्थरीको शल्यक्रिया

२०७७ फाल्गुन १३, ०२:३२ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरा अस्पतालमा ल्याप्रोस्कोपिक विधिबाट पित्तथैलीको पत्थरीको सफल शल्यक्रिया गरिएको छ।

जिल्ला सदरमुकाममा रहेको अस्पतालमा पहिलो पटक दूरबिनबाट पित्तथैलीको पत्थरीको सफल शल्यक्रिया गरिएको हो।

अस्पतालका जनरल सर्जन डा. विजय श्रेष्ठ र एनेस्थेसियोलोजी तथा क्रिटिकल केयर प्रमुख डा. तीर्थराज भण्डारी नेतृत्वको चिकित्सकको टोलीले दूरबिनबाट पत्थरीको अप्रेसन गरेको हो।

अस्पतालमा पहिलो पटक ५४ वर्षीय पुरुष बिरामीको दूरबिनबाट पित्तथैलीको पत्थरीको सफल शल्यक्रिया गरिएको जनरल सर्जन डा. श्रेष्ठले जानकारी दिए।

‘ती पुरुषको पित्तथैलीमा रहेको पत्थरी एउटा ठोस पदार्थ ढुंगाजस्तो थियो। त्यसलाई हामीले दूरबिनबाट निकालेका  हौँ’ डा. श्रेष्ठले भने, ‘पित्तथैलीको पत्थरीले पछि गएर क्यान्सर समेत हुन सक्छ। त्यसैले यसको समयमै उपचार गरिहाल्नुपर्छ।’

अस्पतालले गत असोजदेखि दूरबिन प्रविधिबाट पाठेघरको शल्यक्रिया गर्न थालेको थियो। त्यसपछि पुसमा एपेन्डिसाइटिसको पनि दूरबिनबाट शल्यक्रिया गरिएको थियो।
 

कमेन्ट लोड गर्नुस