सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिराइतोले बजार नपाएपछि खेती छाड्दै

२०७७ फाल्गुन ११, ०४:५७ रासस

फुङ्लिङ: विगतमा चिराइतो कृषकको रुपमा स्थापित भएको नाम हो दाबा शेर्पा । उनी सिरिजङ्घा गाउँपालिका–७ याम्फुदीनका निवासी हुन् । जङ्गलमा मात्र पाइने चिराइतो ताप्लेजुङमा २०७१ सालमा व्यावसायिक रुपमा बारीमा उत्पादन गरेर चिराइतो कृषकको रुपमा उनी स्थापित भएका हुन् । केही वर्ष अगाडि फागुनमा याम्फुदिनमा चिराइतो व्यापारी भरिभराउ हुन्थे ।   

विगतमा उनी नकै व्यस्त थिए चिराइतो सङ्कलन गर्न । तर आजभोलि उनी निकै फूसर्दिलो भएका छन् । किनकि यस वर्षदेखि चिराइतो खेती गर्न छोडिएको छ । उनले भने, “अघिल्लो वर्ष केही चिराइतो व्यापारी घरघरमा आउँथे । यस वर्ष कोही आएनन् ।” विगतमा ४० केजीको २८ हजारमा घरमै चिराइतो खरीद गर्न व्यापारी आउने गरेको शेर्पाले बताए ।

अहिले चिराइतोको मूल्य नभएकाले कुनै पनि व्यापारी नआएको शेर्पाले बताए । मानवीर राईले विगतमा एक सय मन चिराइतो उत्पादन गर्थे । अहिले उनको घरमा औषधिको लागि ६/७ केजी मात्र छ । उनले चिराइतोको बजार नभएपछि व्यवसाय परिवर्तन गरिसके ।

त्यस्तै फक्ताङलुङ गाउँपालिका– ६ का राजकुमार राई पनि चिराइतो खेती गर्न छोडेर अहिले सामान्य मिस्त्री काम गर्न लागेको बताए । विगतमा चिराइतो खेती गर्ने अहिले प्रायः सबैले व्यवसाय परिवर्तन गरेका छन् । विगतमा एक मन चिराइतो दुई हजार ६००मा बिक्री हुन्थो । हिमाली समुदायका चिराइतो कृषकले राम्रो आम्दानी गर्थे ।

जैविक विविधताको देश नेपालमा विभिन्न जडीबुटी पाइन्छन् । चिराइतो महत्वपूर्ण जडीबुटी हो । यो एक हजार ५०० मिटरदेखि दुई हजार ५०० मिटरसम्म अत्यधिक हुने गर्छ । यो दुई वर्षसम्म बाँच्ने जिल्ला वन कार्यालय ताप्लेजुङका कर्मचारी कमला खतिवडाले बताए ।

ज्वरो, कमलपित्त, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको आदि रोगका लागि यसका पात, डाँठ, जरा सम्पूर्ण भाग नै प्रयोग गर्न सकिने खतिवडाले बताए । ताप्लेजुङमा सरकारी वनबाट तीन हजार ५०० केजी उत्पादन गर्ने लक्ष्य रहेको वन कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा १४ हजार ४२० केजी तापलेजुङबाट निकासी भएको वन कार्यालयको तथ्याङ्क छ । 

चालू आर्थिक वर्षमा ११ हजार १०० केजी निकासी भएको जनाइएको छ । गत वर्ष इलाम, पाँचथर र सङ्खुवासभामा उत्पादन भएको चिराइतो ओलाङचुङगोला नाका हुँदै चीनतर्फ निकासी हुने गरेको चिराइतो व्यापारी दाबा ज्युङदाक शेर्पाले बताए । कोरोनाको कारणले ओलाङचुङगोला तर्फको टिपताला नाका ११ महिनादेखि बन्द भएको छ । 

नाका बन्द हुँदा चीनतिर चिराइतो जान नसकेर  अहिले कारोवार नभएको र नाकासम्म पुर्‍याउँदा जहिले पनि १६ हजारसम्म बिक्री गर्न सकिने शेर्पाले बताए ।

कमेन्ट लोड गर्नुस