सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा चितुवा आतङ्क

२०७७ फाल्गुन ११, ०२:०४ रासस

डोटी: जिल्लामा एक हप्तादेखि चितुवाले आतङ्क मच्चाउन थालेको छ ।

शिखर नगरपालिका–३ आलीअतुरालीको गुबाडी क्षेत्रमा चितुवाले आतङ्क मच्चाउन थालेपछि स्थानीयवासी चिन्तित भएका छन् । स्थानीयवासी तेजबहादुर बोगटीका अनुसार चितुवाले एक हप्तामा कम्तीमा  आठ चौपाया मारेको छ । सोही वडाका खगेन्द्र बोगटीको गाईको बाच्छो, कलुदेवी बोगटीको गाई, शेरबहादुर बोगटीका चार बाख्रा र करी पार्कीका दुई बाख्रा चितुवाले मारेको उनले बताए ।

उनले भने, “केही दिनयतादेखि चितुवाले आतङ्क मच्चाउन थालेको छ, हाम्रै गाउँमा आठ चौपाया मारिसक्यो ।” चितुवाले दिनहुँ गाउँ तथा जङ्गलमा त्रास उत्पन्न गराउन थालेपछि यहाँका स्थानीयवासी आतङ्कित भएका छन् । प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले चितुवाले आतङ्क मच्चाइरहेको भन्ने खबर पाएपछि सो क्षेत्रमा प्रहरी टोली खटाइएको बताए । 

उनले भने, “चितुवाले आतङ्क मच्चाउन थालेको भन्ने खबर आएको छ, क्षतिका बारेमा बुझ्न प्रहरी टोली पठाएका छौँ, चितुवा नियन्त्रणमा लिने प्रयास गर्ने छौँ ।” स्थानीयवासी रामबहादुर बोगटीका अनुसार गाउँ नजीकै पर्ने कुयपानी सामुदायिक वनभित्र पर्ने जङ्गलमा लामो समयदेखि एउटा चितुवा बस्दै आएको र अपराह्न वनमा डुल्ने र राति गाउँभित्रै पसेर गाउँमा आतङ्क मच्चाइरहेको छ । 

सम्भावित मानवीय जोखिमलाई ध्यानमा राखी उक्त चितुवालाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयलाई गाउँवासीले आग्रह गरेका छन् ।
 

कमेन्ट लोड गर्नुस