सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर पहाडका राजमार्गको दुरावस्था

२०७७ फाल्गुन ११, ०१:४९ रोशन भट्ट

धनगढी: विगत लामो समयदेखि सुदूरपश्चिमका पहाडी रुटमा सार्वजनिक बस चलाउँदै आएका शंकर ओलीलाई पछिल्लो समय सडकको दुरावस्थाले गन्तव्य नपुग्दासम्म चिन्तित बनाइरहेको हुन्छ। 

भौगोलिक दृष्टिकोणले समेत निकै जटिल मानिने पहाडी जिल्लाको यात्राका क्रममा भीमदत्त पन्त राजमार्गमा पर्ने सडकको छेउ तथा बीचमा परेका ठूलठूला खाल्डाखुल्डीका कारण कतै दुर्घटनामा परिने त होइन भन्ने चिन्ता उनलाई भइरहन्छ।

बसका पाठपूर्जा समेत बिग्रिने र यात्रुले समेत दुःख पाउने भएका कारण निकै निराश बनाउने गरेको प्रतिक्रिया ओलीको छ। ‘रातिको समयमा गाडी खाल्डोमा पर्ने सम्भावना धेरै हुन्छ,’ उनले भने, ‘गाडी खाल्डोमा परेपछि पूर्जा भाँचिन्छन्, अनि दुर्घटनाको जोखिम पनि उच्च हुन्छ।’

भिमदत्त राजमार्गमा कतै सडकको किनार नै खसेको छ भने कतै भासिएको छ। दर्जनबढी स्थानमा चिरा परेको सडक मर्मत नहुँदा सवारी चालकहरुले सास्ती भोग्नु परेको गुनासो गरिएको छ। 

कैलालीको गोदावरीबाट ४ किलोमिटरको मात्रै यात्रा गर्ने हो भने गत साउनमा गएको पहिरो देख्न सकिन्छ। राजमार्ग नै अवरुद्ध हुने गरि गएको पहिरोलाई सामान्य व्यवस्थापन गरेएपनि पूर्णरुपमा मर्मत नगरिँदा त्यो क्षेत्रमा जोखिम बढेको छ। 

पहाडी रुटका सडकहरु लामो समयदेखि मर्मत नभएको सुदर–सुदूरपश्चिम यातायात प्रालीका अध्यक्ष पदम सापकोटाले बताउँछन। ‘घुम्तीका कारण पनि दुर्घटना हुने गरेको छ,’ उनी भन्छन्, ‘सरोकारवाला निकायलाई पटक–पटक आग्रह गर्दा पनि वेवास्ता भइरहेको छ।’

पहाडी जिल्लामा हुने सवारी दुर्घटनाको एउटा प्रमुख कारण सडकको दुरावस्था पनि भएको चालकहरुको भनाइ रहेको छ। तर सडक डिभिजन कार्यालयले बिग्रिएको बाटो समयमै मर्मत सम्भार गरेर दुर्घटना न्यूनीकरणमा भूमिका खेल्नुपर्ने अवस्थामा मर्मत सम्भारका लागि प्रतिकुल वातावरण नै नपाएको दाबी गरेको छ। 

विगतमा मौसमका कारण काम गर्न नसकिएको सडक डिभिजना कार्यालय महेन्द्रनगरका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले बताए। ‘अब केही समयमा नै मर्मतको काम सुरु हुन्छ,’ उनले भने। 

डडेल्धुराको स्याउलेसम्म रहेको भिमदत्त राजमार्गको मर्मत सम्भार गर्ने जिम्मा डोटी डिभिजनको पनि हो। डोटी अन्तरगत पर्ने सोही राजमार्गको अवस्था पनि उस्तै छ। 

डडेल्धुराकै स्याउलेबाट सुरु हुने केआइसिंह राजमार्गमा समेत परेका खाल्डाखुल्डी मर्मत गर्न ढिलाइ भइरहेको छ। तर सडक डिभिजन कार्यालय डोटीका इन्जिनियर योगेन्द्र अधिकारीले भने केही ठाँउमा सडक बिग्रिएको स्वीकार गर्दै एक महिनापछि मर्मतको काम सुरु गर्ने बताए। 

दुर्घटना न्यूनीकरणका लागि सडक किनारमा लगाइएका स्टीलबार समेत जिर्ण बन्दै गएपनि नयाँ राख्न कसैको ध्यान नगएको गुनासो सवारी चालकको छ।  

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस