सुदूर नेपाललाई विश्वसँग जोड्दै

भलिबलमा भविष्य खोज्दै सुदूरपश्चिमका कान्छा खेलाडी

२०७७ फाल्गुन १०, ०२:१३ रासस

झलनाथ खनाल, भजनी: भलिबलका क्षेत्रीय खेलाडी विशाल भण्डारी १७ वर्षको मात्र भए। कम उमेरमा क्षेत्रीय स्तरमा पुगेका उनी सुदूरपश्चिमका कान्छा खेलाडी बन्ने सौभाग्य समेत प्राप्त गरेका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ का उनी अहिले जुनसुकै भलिबल प्रतियोगितामा सबैभन्दा कान्छा खेलाडीका रुपमा देखिन थालेका छन्। एघार वर्षकै उमेरबाट भलिबल खेलप्रति आकर्षित भएका उनी लाटाभूमुराज युवा क्लबबाट प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुँदै आएका छन्।

“मैले भलिबलसँगै क्रिकेटलाई पनि प्राथमिकतामा राखेको थिएँ। छ महिना क्रिकेट खेल पनि सिकें”, उनले भने, “मलाई क्रिकेटभन्दा भलिबलमा रुचि बढ्यो। त्यही भएर भलिबल खेल्दै आएको छु।”

कञ्चनपुरको आदर्श विद्या निकेतनमा कक्षा १२ मा अध्ययरत उनले खेलसँगै अध्ययनलाई पनि सँगै निरन्तरता दिनुपर्दा समस्या हुने गरेको बताउछन्। “मेरो घरबाट मलाई खेलकूदमा पूर्ण छुट छ। त्यही विश्वासले म सानै उमेरमा यहाँसम्म पुगेको हुँ।” उनले भने, “जति बाहिरबाट देख्दा सजिलो लाग्छ। त्यति मैदानमा पुगे सजिलो छैन। तर ममा विश्वास छ म राम्रो खेलाडी भएर देखाउन सक्छु।”

उनी अहिलेसम्म सहभागी भएका प्रतियोगितामा पनि सबैभन्दा कम उमेरको आफू नै हुने गरेको र भलिबल खेललाई व्यावसायिकरुपमा अगाडि बढाउने धोको रहेको बताउछन्। उनले सहभागी भएको खेलमा उदयमान खेलाडीको उपाधिसमेत पाउँदै आएका छन्।

“महेन्द्रनगर कभर्ड हलमा दुई वर्षदेखि मैले भलिबल सिक्दै आएको छु। गुरुबाट सिकेको सीपलाई राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा पुर्‍याउने मेरो लक्ष्य छ”, उनले भने, “खेलकूदमा भविष्य छैन भन्नु सान्दर्भिक हुँदैन। आफ्नो कर्ममा निरन्तरता दिनसके व्यावसायिक खेलाडी बन्न सकिन्छ। म बनेर देखाउने छु।”

उनलाई खेलाडीकैरुपमा स्थापित भएका कारण विद्यालयले पनि ११ र १२ मा शुल्क लिएको छैन। अहिले अन्तिममा केही शिक्षकले शुल्क माग्दा आफूलाई अध्ययनमा बाधा पुगेको उनले बताए।

“परिवारमा कमाउने कोही छैन। बुवाले भारतमा काम गरी पठाएको पैसाले घर खर्च र अन्य व्यवस्थापन गर्नुपर्ने बाध्यता छ”, उनले भने, “माध्यामिक शिक्षा परीक्षा पास हुँदा विद्यालयले निःशुल्क अध्ययन गराउने जनाउँदै मेरो भर्ना गराएको थियो। अहिले शुल्क माग्न थालेको छ।

यही अवस्थामा अध्ययन कतै बिथोलिन्छ कि भन्ने चिन्ता पनि छ।” उनले महेन्द्रनगर कभर्डहलमा भलिबल खेलका प्रशिक्षक जगदीश भट्ट र लालबहादुर बटालाबाट प्रशिक्षित हुँदै आएका छन्। कोरोना महामारीको संक्रमणका कारण राष्ट्रिय खेलाडी टिममा जाने आफ्नो सपना अधुरो भएको बताए।

“कोरोनाका कारण हाम्रो प्रशिक्षण रोकियो । मेरो राष्ट्रिय खेलमा खेल्ने निधो भएको थियो”, उनले भने, “त्यो सपना कोरोनाका कारण पूरा हुन सकेन।” उचाइ कम भएका कारण उनले लिब्रो खेल्दै आएका छन्।

भलिबलका राष्ट्रिय प्रशिक्षक जगदीश भट्टले विशाल पछिल्लो पुस्ताको उदाउँदो खेलाडी भएको बताएका छन्। “खेलाडीमा हुनुपर्ने सबै गुण विशालमा छ। उनमा राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रियस्तरसम्म पुग्ने गुण छन्”, उनले भने, “सानैमा खेलमा लागेकाले पनि त्यस्तो सम्भावना देखिएको हुनसक्छ।

यस्तो गुण खेलाडीमा प्रायः कमैमा हुन्छ।” उनले जुनसुकै खेलम पनि सुदूरपश्चिमको खेलाडी उत्कृष्ट रहेको बताउँदै खेलाडीका लागि चाँहिने वातावरण सुदूरपश्चिममा कुनै निकायबाट हुन नसकेको बताए। उनले पैसा खर्च गरेर मात्र खेलाडी स्थापित हुन नसक्ने र खेलाडीका लागि खेलमैत्री वातावरणको खाँचो रहेको बताए।

खेलकूदले युवालाई सही बाटोमा डोर्‍याउन सकिने जनाउँदै भलिबलका राष्ट्रिय प्रशिक्षक भट्टले सुदूरपश्चिमलाई चिनाउने एकै माध्यम खेलकूद बन्नसक्ने बताए । “हामी अन्य प्रदेशभन्दा अगाडि छौँ भने त्यो खेलकुदमा छौँ। खेलकूदले प्रदेशलाई चिनाउन समय लाग्ने छैन”, उनले भने, “प्रदेशको खेलकूदमा लगानी शुन्य देखिएको छ र स्थानीय तहले पनि अन्य खेलकूद विधा जस्तै भलिबललाई प्राथमिकतामा राख्न सक्नुपर्दछ।”

कमेन्ट लोड गर्नुस