बाघले महिलाको ज्यान लिएपछि कैलालीको वसन्ता वन क्षेत्रमा सन्त्रास
धनगढीः नरभक्षी बाघ देखिएको कैलालीको गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिका बीचका वन जंगलमा शनिबार दिउँसो वन अधिकारी र प्रावधिकहरूको एउटा समूह जङ्गल भित्रै पसेर पाटे बाघको खोजीमा जुट्यो।
उनीहरूले जंगल क्षेत्रमा जडान गरेका १७ मध्ये ६ क्यामेरा खोलेर हेर्न भ्याए। त्यस क्रममा कुनै क्यामेरामा पनि बाघको फोटो देखिएन। बाघ देखिएको क्षेत्रमा जडान गरिएको क्यामेरामा पुनः नदेखिएको हो। तर गौरीगंगाको अण्डैयाको वनमा बाघले एक महिलाको ज्यान लिएपछि कैलालीको वसन्ता करिडोर आसपासको वन र अन्य वन क्षेत्र आसपासमा बस्ने मानिसहरू बाघ आउने त्रासमा बाच्न बाध्य छन्।
नरभक्षी बाघलाई नियन्त्रणमा लिने संरक्षण अधिकारीको प्रयास लगातार विफल भएपछि गौरीगंगादेखि कैलारीसम्ममा मानिसमा बाघ आउने हो कि भन्ने त्रास हट्न सकेको छैन। “बाघ दैनिक देखिदै आएको छ। तर नियन्त्रणमा लिइएको छैन। हामीहरुलाई डर लागि रहेको छ। अण्डैया मान्छे खाएकाले पनि हामीहरु बढि डराएकाा छौ,” स्थानीय धननबहादुर कलेलले भने।
पाटे बाघ पाइने भारतको पिलिभित, दुधुवा र नेपालका शुक्लाफाँटा तथा बर्दिया राष्ट्रिय निकुञ्जले घेरिएको कैलालीमा नरभक्षी बाघले दुई स्थानमा मानिसलाई आक्रमण गरिसकेको छ। मानव बस्ती नजिकै पाटे बाघ आएपछि वन नजिकै बस्ने मानिसहरू वन जान र रातिको समयमा घर बाहिर निस्कन छोडेका छन्।
मोहन्याल गाउँपालिका वडा नम्बर ५ की अञ्जना घर्तीमगरले शनिबार बाघ देखेको बताइन्। “राति नहुँदै बाघ आयो। झण्डै बालबालिकालाई झम्टिएको। हामीले होहल्ला गरेर भगाएका छौँ। तल तिर भएको छ,” उनले दिनेशखबरसँग भनिन्। संरक्षणकर्मीसहितको समूहले जंगलमा जडान गरेका क्यामेरामा बाघ नदेखेपनि प्राविधिकहरू गौरीगंगा क्षेत्रमा रहेको बाघको बारेमा प्रष्ट भएका छैनन्।
तर गौरीगंगाका स्थानीय बासिन्दाहरू भने ढुक्क हुन सकिरहेका छैनन्। वन नजिकैका बस्तीहरु खेत बारी वा झाडी बुट्यानमा बाघ पुनः देखिएको भन्दै उनीहरु त्रसित भएका हुन्। गत सोमबार नरभक्षी पाटे बाघले गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैयाकी २५ वर्षीया कला धामीलाई आक्रमण गरी ज्यान लिएको थियो। उनी घर नजिकैको वनमा गाई वस्तुलाई स्याउला बटुल्न गएकी थिइन्। त्यसको केही दिनअघि शुक्रबार कैलारी गाउँपालिका ८ दुधियाका २८ वर्षीय दुर्गा चौधरीलाई स्थानीय सीता कुँवा सामुदायिक वनमा पात टिप्न गएको बेला पाटे बाघले आक्रमण गरेको थियो।
दुवै घटनामा आक्रमणकारी पाटे बाघ एउटै हो वा फरक–फरक त्यो प्रस्ट भइसकेको छैन। त्यसै कारण पनि मानिसहरू त्रासमा बाच्न बाध्य भएका हुन्। गौरीगंगादेखि उत्तरमा चुरे क्षेत्र पर्छ भन्ने दक्षिणमा वसन्ताको बाक्लो वन जसलाई भारतको दुधुवा र नेपालबीचको वन्यजन्तु विचरण गर्ने महत्त्वपूर्ण जैविक मार्ग मानिएको छ। त्यही जैविक मार्ग हुँदै दुधुवाबाट बाघ आएको हुन सक्ने कतिपयको अड्कल छ तर त्यसको पुस्टि भइसकेको छैन। जहाँबाट आएको भएपनि नरभक्षी भइसकेको बाघलाई मार्नुपर्ने मानिसहरूको माग छ।
तर वन्यजन्तु आक्रमणमा ज्यान गुमाउने हरेक व्यक्तिको परिवारलाई सरकारले १० लाख रुपैयाँ क्षतिपूर्ति दिने गरेको भन्दै बाघलाई बेहोस बनाएर समात्ने रणनीति वन अधिकारीले बनाएका छन्। वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले वन क्षेत्रमा रहेको बाघको क्यामेरा मार्फत अध्ययन थालिएको बताए। “हामीले जंगल क्षेत्रमा रहेको बाघको क्यामेरा मार्फत निगरानी गर्दै आएका छौँ। बाघ देखिएको भन्दै स्थानीयलले फोन गर्ने गरेका छन्। तर क्यामेरामा देखिएको छैन्। हामी निगरानीमै छौ,” उनले भने।
गौरीगंगाको नरभक्षी बाघ समातेपनि कैलालीबासी पाटे बाघ बाट भाग्न सक्दैनन्। किनभने कैलाली वरिपरि बाघका प्राकृतिक बासस्थान रहेका छन्। दुई वर्षअघि कैलाली पश्चिमको शुक्लाफाँटामा १६, पूर्वतर्फको बर्दियामा ८७ गणना गरिएको थियो। दक्षिणमा भारतको भारतको दुधुवामा ५८ र पश्चिमको पिलिभितमा ६५ वटा पाटेबाघ पाँच वर्ष अघि नै गनिएका थिए। निकुञ्ज बाहिरका वनमा थप बाघ हुन सक्ने वन अधिकारीहरू बताउँछन्।