सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषिमा रमाउँदै स्याङ्जाका युवा

। फोटो स्रोत ।
२०७७ फाल्गुन ९, ०५:०९ रासस

स्याङ्जा: केही समय पहिला युवाको रोजाइमा नपरेको कृषि पेशामा अहिले विस्तारै युवाहरू आकर्षित हुन थालेका छन् । 

एक समय कृषि पेशा भन्नेबित्तिकै नाक खुम्च्याउने युवापङ्क्ति अहिले भने यो पेशाप्रति आकर्षित हुन थालेका छन् । नेपालका युवाको रोजाइमा पर्ने गरेको वैदेशिक रोजगारीलाई कोरोना महामारीले समस्यामा पारेपछि नेपाली युवा विकल्पका रुपमा कृषि पेशामा आउन चाहेका हुन् । कृषि पेशा भन्नासाथ समाजलेसमेत दुःखी पेशा मान्ने गरेकामा यसको व्यावसायिकतासँगै युवापुस्ता यसतर्फ आकर्षित बनेको हो । कोरोना भाइरसका कारण वैदेशिक रोजगारीमा गएका धेरै युवाले रोजगारी गुमाएपछि उनीहरूमा आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोच पलाएको हो ।

वैदेशिक रोजगारीमा गएका साथै कतिपय अन्य पेशा अँगालेका युवाले पनि आफ्नो पुरानो पेशासँगै कृषिलाई सँगसँगै लैजान थालेका छन् । तीमध्येमा एक युवा दीपक भट्टराई सङ्गीतका साथमा कृषि पेशामा रमाएका छन् । झण्डै तीन दर्जन गीत गाइसकेका कालीगण्डकी गाउँपालिका– ७ मिर्मीका भट्टराई यतिखेर व्यावसायिक कृषिलाई पनि सँगै लगिरहेका छन् ।

“सुरुआत आफैँबाट गरौँ, परिवर्तन सम्भव छ”, भन्ने सोचका साथ लागेर आफू व्यावसायिक कृषिमा लागेको भट्टराईको भनाइ छ । कृषि पेशामा लाग्दा एउटा कलाकारले के गर्ला र भन्ने गरेको सम्झँदै दीपकले अहिले आफ्नो काम देखेर सबै दङ्ग पर्ने गरेको बताए । गीत गाउँदै हिँड्ने मान्छे कृषिमा लागेर के गर्नसक्ला भन्ने पनि अहिले उनले बाख्रा र कुखुरा पालेर सफल भएपछि प्रशंसा गर्न थालेका छन् । एघार वर्ष गीतसङ्गीतमा बिताएका दीपक अहिले आफ्नै गाउँ मिर्मी फाँटमा कलाकार आधुनिक कृषि तथा पशुपालन फर्म सञ्चालन गरेर उदाहरणीय बनेका छन् । उनको फर्ममा चौबीसै घण्टा लोकदोहोरीका धुन गुञ्जिरहेका हुन्छन् ।

फर्ममा पुग्ने जोसुकैलाई पनि सङ्गीतको धुनसँगै बाख्रा, स्थानीय जातको कुखुरा र टर्कीसँगै खेलिरहेका भट्टराईको सक्रियताले लोभ्याउने गरेको छ । घरमा भएका दुईवटा माउ बाख्राबाट व्यवसायको थालनी गर्नुभएका भट्टराईको फर्ममा अहिले १५ वटा माउ बाख्रा छन् भने पाठापाठीसहित ५० वटा पुगेका छन् । स्थानीय खरी बाख्रालाई जमुनापारीको बीउ बोका लगाएर व्यवसायको विस्तार गरेका दीपकले भने, “अहिले बोयर बोका ल्याएको छु, यसले व्यवसायमा थप सफलता मिल्ने विश्वास बढेको छ ।” व्यवसायलाई थप व्यवस्थित गर्न गाउँपालिकाले गरेको सहयोगबाट झनै हौसला मिलेको उनले बताए ।

पैसा कमाउन विदेश जाने सोच आफूमा नरहेको र आफ्नै गाउँठाउँमा केही गर्छु भनेर कृषि कर्ममा लागेकोले आफूले गरेको परिश्रमअनुसारको प्रतिफल पाएको भट्टराई बताउँछन् । उत्पादन गर्नसके बजारको समस्या नभएकोले घरपरिवार चलाउनकै लागि वैदेशिक रोजगारीमा जानुभन्दा आफ्नै गाउँघरमा परिवारसँगै बसेर काम गर्नु धेरै राम्रो हुने उनको अनुभव छ । 

केही समय अगाडि नपढेका, अरु केही काम नजान्ने र नगर्नेले गीत गाउने हो भन्ने समाजको बुझाई थियो तर बिस्तारै चेतनाको विकास र गीतसङ्गीतको महत्व बढेपछि बल्ल सम्मान गर्न थालियो भने कृषिमा पनि त्यस्तै रहेको दीपकको बुझाइ छ । आधुनिक प्रविधिको प्रयोग गरेर काम गर्ने हो भने कृषि पेशामा भविष्य रहेको दीपक बताउँछन् । आपूmले फर्म सञ्चालन गरेसँगै गाउँका अन्य युवा पनि कृषिमा आकर्षित बन्दा आफूलाई निकै खुशी लागेको दीपक बताउँछन् । 

गाउँपालिकाले बीउ तथा बिरुवा उपलब्ध गराएर किसानहरूलाई कृषि पेशामा लाग्न प्रोत्साहान गरेकाले पनि आफूले यो पेशामा नै भविष्य देखेर यसैमा लागेको उनले बताए । बाख्रा तथा कुखुराबाट महिनामा एक लाखसम्म आम्दानी गर्ने लक्ष्य लिएका दीपकले अब बङ्गुरसमेत थपेर व्यवसायलाई थप विस्तार गर्ने योजना रहेको सुनाए । आपूmले व्यवसाय सुरु गरे पछि छिमेकीमा पनि गरे हुँदो रहेछ भन्ने प्रभाव परेको र अहिले एउटा माउ पाल्नेले दुई वटा र दुई वटा पाल्नेले चार वटा पाल्न थालेकाले पनि आफूले गर्दै आएको पेशाले आफूलाई मात्रै नभएर समाजलाई नै हौैसला प्रदान गरेकाले खुशी गालेको दीपकले बताए ।

दुई वर्षअघि तरकारी खेतीबाट कृषि कर्ममा लाग्नुभएका दीपकले असिना र मौसम प्रतिकुलताका कारण सुरुवाती चरणमै घाटा खानुप¥यो । “तरकारीबाट उत्पादन लिन नसकेपछि छिमेकीले अब यसले गर्दैन, फेरि माइक समातेर गीत गाउन जान्छ भन्न थाले”, उनल भने, “तर कृषिमा धेरै अवसर देखेर लागेकोले यो पेशालाई छाड्न सकिन अनि बाख्रा र कुखुरापालन गर्ने अठोट गरेर अहिले यसमै निरन्तर लागिरहेको छु, यसबाटै आफ्नो भविष्य उज्वल बनाउँछु ।” 

‘राम्रो जागीर नेपालमै पाए केलाई जान्थे साउदी कतार थन्काइदिन्थे पास्पोर्ट, नसकिने रैछ झ्याप्पै ज्यान फाल्नलाई जीउन पनि साह्रै गाह्रो भो, सम्झनालाई औँठी साटौँला, नराम्रोनी राम्रै मानियो’ बोलका लोक दोहोरी गीत गाएका दीपकले दुई वर्ष पहिले पाँच हजारबाट सुरु गरेको व्यावसायमा अहिले करीब १२ लाख लगानी पुगेको बताए । बाख्रा, टर्की र स्थानीय जातका कुखुरा पालेका दीपकले महिनाको महिनाको ४०÷४५ हजार कमाउनका लागि विदेशिनु नपर्ने बताए ।

यसैगरी काठमाडौँमा बसेर सङ्गीतिक क्षेत्रमा काम गर्दै आएका गल्याङ नगरपालिका वडा नम्बर ९ गेजाका कुसुम भण्डारी गाउँ फर्किएर दुई वर्षदेखि केरा खेती गर्दै आएकी छिन् । घर नजिकै तीन रोपनी जमीनमा ३०० केराका बिरुवा लगाएको र प्रतिबोटबाट एक हजारका दरले वर्षमा केराखेतीबाट वार्षिक तीन लाख रुपैयाँ आम्दानी गर्दै आएको भण्डारीले बताइन् । तीन रोपनी जमीनमा लगाएको केरा खेतीलाई विस्तार गरेर पाँच रोपनीमा केरा खेती गर्ने योजना रहेको सुनाउँदै भण्डारीले समग्र गेजालाई केरा गाउँका रुपमा चिनाउने उद्देश्यअनुसार गाउँभरि केरा खेतीको विस्तार गर्न लागिएको बताइन् । 

लगाएको एक वर्षभित्रमा केराले उत्पादन दिने र सिँचाइको अभाव भएको ठाउँमा रिपियान भएको पाखोमा लगाउन सकिने भएकोले गाउँघरका बाँझो पाखो बारीलाई सदुपयोग गरेर केरा खेती गरेको खण्डमा राम्रो आम्दानी लिन सकिने कुसुम बताउँछिन् । गाउँघरमा बसेर केरा खेती गर्दै आएकी कुसुमले गाउँमै कीर्तन समूहको निर्माण गरेर बेला मौकामा गाउँघरमा हुने पूजाआजामा आफ्नो समूहले भजन गाउने गरेको बताइन् । गाउँमा त्यसै खेरा गएको पाखो बारीको सदुपयोग गरेर आयआर्जनको बृद्धिसँगै परम्परा र संस्कृतिको संरक्षण गर्ने योजनाअनुसार कीर्तन समूहसमेत निर्माण गरेर काम गर्दै आएको भण्डारीले बताइन् । 

बाह्र वर्ष खाडी मुलुकमा बिताएर स्वदेश फर्किएका थमन गुरुङ अहिले कुखुरापालनमा रमाएका छन् । अर्जुनचौपारी गाउँपालिका रापाकोटका थमन गुरुङले संयुक्त अरब इमिरेट्स र मलेसियागरी बाह्र वर्ष वैदेशिक रोजगारीमा विताए पनि स्वदेश फर्किएपछि हरियाली पोल्ट्री फर्म सञ्चालन गरेर अहिले यसमै रमाएका छन् । अर्जुनचौपारी– ३ रापाकोट स्थायी घर भएका थमन गुरुङ अहिले वालिङलाई कर्मथलो बनाएर यो व्यवसायीका रुपमा काम गरिरहेका छन् । 

गएको असारदेखि कुखुरापालन व्यावसाय सुरु गरेका थमनको फर्ममा अहिले दुइ हजार २०० ब्रोइलर कुखुरा छन् । कोरोना महामारीले गर्दा देशमा बन्दाबन्दी भएपछि केही त गर्नुपर्यो भनेर थमनले कुखुरापालन रोजेका हुन् ।रोजगारीको अबको विकल्प भनेको कृषि र त्यसमा पनि थोरै लगानीबाट गर्न सकिने र आम्दानी पनि छिटो हुने भएकाले यो व्यवसाय गर्न थालेको थमनले बताए ।

कुखुरापालनसम्बन्धी कुनै पनि तालिम नलिए पनि थमनले साथीहरूको सल्लाह र युट्युव लगायतका सामाजिक सञ्जालको सहायतामा व्यवसायको थालनी गरेका हुन् । वार्षिक ८४ हजारमा पाँच रोपनी जग्गा भाडामा लिएर व्यवसाय सुरु गरेका गुरुङले अब खोरको विस्तार गर्नुका साथै कुखुरासँगै टर्की पनि पाल्ने योजना रहेको बताए । वास्तविक किसानले अझैपनि अनुदान पाउन नसकेको र व्यावसायिक किसानहरूको निष्पक्ष अनुगमन गरेर कामको आधारमा अनुदान दिनसके कृषिमा धेरै प्रगति हुने गुरुङ बताउँछन् ।

नेपालमा कृषिको क्षेत्रमा लाग्ने युवाको भविष्य राम्रो रहेको बताउदै थमनले विदेश जान लगानी गर्ने पैसा कृषि क्षेत्रमा लगानी गर्न आग्रह गरे । थमनले भने, “युवा साथीहरू विदेशको मुख ताकेर बस्ने र विदेशतिर भौतारिनुभन्दा कृषिक्षेत्रमा लाग्नुस् काम दाम र नाम यहीँ छ ।” जिल्लाका अधिकांश स्थानमा कोरोना भाइरसको प्रकोपसँगै रोजगारी गुमाएका युवाहरू दिनप्रतिदिन कृषि पेशाप्रति आकर्षित हुँदै गएका छन् । 

यसैगरी वालिङ नगरपालिका– १२ फौदीखोलामा शुभ बिहानी बङ्गुरपालन फर्म सञ्चालन गर्दै आएका डम्बरबहादुर गुरुङले बङ्गुरपालन व्यवसायबाट आफूले राम्रो आम्दानी लिन सफल भएको बताए । बिहान उठेदेखि राति अबेर सम्म बंगुरकै सेवामा खट्ने गरेको बताउदै गुरुङले भने, “बङ्गुरपालनका लागि मेहनत धेरै गर्नुपर्छ । यसबाट आम्दामी पनि लिन सकिन्छ ।” कोरोना भाइरसका कारण भएको बन्दाबन्दीका समयमा बङ्गुरका पाठापाठी बिक्री नहुदा समस्या भए पनि अहिले त्यस्तो केही समस्या नभएको गुरुङले बताए ।

विगत छ वर्षअघि आठ लाखको लागतमा बङ्गुरपालन व्यावसाय गर्दै आएका गुरुङले पाठापाठी बिक्री गरेर राम्रो आम्दामी लिएका छन् । बङ्गुरको पाठापाठीलाई पाँच हजारदेखि पाँच हजार ५०० रुपैयाँ सम्ममा बेच्ने गरेको गुरुङ बताउँछन् । 

सरकारले कृषकका लागि दिने अनुदान खास किसानसम्म नआएको गुनासो गर्दै उनले भने, “व्यावसाय गर्ने किसान अनुदानका लागि धाउने कि फर्ममा काम गर्ने ?” उनको प्रश्न छ । नेपालमा कृषिका साथै पशुपालन व्यावसायमा भविष्य भएको बताउँदै उनले रोजगारीको लागि अरुको मुख ताक्नुभन्दा अब युवा सानोठूलो व्यावसाय आफँैले गर्न सकिने अनुभव सुनाए ।
 

कमेन्ट लोड गर्नुस