सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालले खरीद गरेको १० लाख डोज ‘कोभिसिल्ड’ खोप काठमाडौं आइपुग्योे

फाइल फोटो
फाइल फोटो
२०७७ फाल्गुन ९, ०३:०८ खबर संवाददाता

काठमाडौं: सरकारले खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगको छ।

एयर इन्डियाको विमानबाटमार्फत दिल्लीबाट १ः३० बजे काठमाडौं आइपुग्ने भनिएको विमान डिले भई १ः५९ मा विमानस्थलमा अवतरण भएको हो। नेपाल सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियामा फागुन ५ गते २० लाख डोज खरिदका लागि सम्झौता गरेको थियो। 

सरकारले प्रति डोज ४ डलरमा २० लाख डोज खोप खरिद गरेको हो। जसमध्ये पहिलो चरणमा १० लाख डोज आज आएको हो। उक्त खोप टेकुस्थित कोल्डरुममा भण्डारण गरी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरका खोप केन्द्रमा वितरण हुने छ। 

स्वास्थ्य मन्त्रालयले बाँकी १० लाख खोप पनि चाँडै नेपाल आइपुग्ने जनाएको छ। सरकारले उक्त खोप खरिदका लागि अग्रिम भुक्तानी गरेको थियो। नेपालको खरिद ऐनले अग्रिम भुक्तानी गर्न नमिल्ने भएपछि मन्त्रिपरिषद्ले अग्रिम भुत्तानीका लागि निर्णय गरेको थियो। सरकारले फागुन २३ गतेदेखि सञ्चालन गर्ने दोस्रो चरणको खोप अभियानका लागि उक्त खोप खरिद गरेको हो। 

दोस्रो चरणको खोप अभियानमा ५५ वर्षभन्दा माथि उमेर समूहलाई खोप लगाउन लागिएको छ। उक्त बैठकले दोस्रो चरणमा नै महाविद्यालय तथा विद्यालयका प्राध्यापक, शिक्षण तथा कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालकहरुलाई समेत खोप लगाउन आवश्यक तयारी तथा व्यवस्थापन गर्ने निर्णय गरेको छ। 

नेपालमा माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप अभियान सुरु भएको थियो। पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, एम्बुलेन्स, शववाहन चालक, पत्रकार, स्थानीय जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, नेपालस्थित कूटनीतिक नियोगका कर्मचारी, युएन एजेन्सीका कर्मचारीलाई खोप दिइएको छ। 

नेपालमा हालसम्म ३ लाख बढीले खोप लगाइसकेका छन्। 

कमेन्ट लोड गर्नुस