सुदूर नेपाललाई विश्वसँग जोड्दै

हत्या, हिंसा र बलात्कार, ओली सरकारको चमत्कार : डा.संग्रौला

२०७७ फाल्गुन ८, ०३:०१ खबर संवाददाता

डोटी: नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डा. डिला संग्रौलाले सरकारले छोरीहरुको सुरक्षा गर्न नसकेको आरोप लगाएकी छिन्। 

शनिबार नेपाल प्रेस युनियन डोटीले सिलगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रिय सदस्य डा.संग्रौलाले नेपाली छोरीचेलीहरुमाथि श्रृंखलाबद्धरुपमा बलात्कार र हत्या हुँदा समेत सरकारले अपराधीलाई कानूनी दायरमा ल्याउन नसकेको टिप्पणी गरिन्। ‘हत्या, हिंसा र बलात्कार वर्तमान सरकाको उपहार जस्तो बनिरहेको छ। ‘हत्या, हिंसा र बलात्कार, ओली सरकारको चमत्कार’ जस्तो भइरहेको छ’ उनले भनीन। 

साथै उनले बलात्कारपछि हत्या गरिएकी भागीरथी भट्ट, निर्मला पन्त, सम्झना कामीलगायत अपराधीलाई तत्काल कानूनी कठ्घरामा ल्याई कडा सजाय दिन माग गरिन्।

देशको शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको जिकिर गर्दै डा. संग्रौलाले संविधान, लोकतन्त्र र गणतन्त्रमाथि प्रहार गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै उनले कानूनलाई टेकेर सर्वोच्च अदालतले उचित न्याय निरुपण गर्ने विश्वास समेत व्यक्त गरिन्।

नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेस डोटी सभापति प्रदीप कुमार देउवा, नेपाल महिला संघकी कोषाध्यक्ष जानुका सिंह, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतक निर्मला क्षेत्री, नेपाल महिला संघकी केन्द्रिय सदस्य गिर्जा न्यौपाने, पार्टी सचिव नारायण जोशी, नेपाल महिला संघ डोटीकी सभापति माया कुवर लगायत नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो।
 

कमेन्ट लोड गर्नुस