सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उप–महानगरपालिका खोलानालाको अतिक्रमण हटाउने निर्णय कार्यान्वयन गर्न ‘विफल’

२०७७ फाल्गुन ७, ०८:३० नारायण अवस्थी

धनगढीः धनगढी शहर क्षेत्रका खोलानाला किनारमा बढेको मानवीय अतिक्रमण हटाउने आफ्नो पहिलो कार्यपालिका बैठकको निर्णय धनगढी उप–महानगरपालिकाले अढाई वर्ष बितिसक्दा समेत कार्यान्वयन गर्न सकेको छैन।

गत भाद्र महिनामा धनगढी डुबानमा पर्दा डेढ महिनाभित्रै खोलानालाका सबै लालपुर्जा खारेज गर्ने गरि अतिक्रमण हटाउने स्पष्ट योजना ल्याउने नगर प्रमुख नृपबहादुर वडको बाचा अझै कार्यान्वयन हुने बाटोमा गएको छैन। 

त्यस्ता वाचा झूटो साबित हुने चिन्तासँगै आगामी वर्खा याममा धनगढी नगर फेरि डुबानमा पर्न सक्ने हो कि भन्ने चिन्ता नगरमा अहिले बढ्दो क्रममा छ। 

गएको बर्खामा धनगढी नगरका कैयौँ भाग डुबानमा परेपछि धनगढी उप–महानगरपालिकाका प्रमुखले डुबानको कारक मानिएको खोलानालाको किनार अतिक्रमण हटाउन कुनै कसर बाँकी नराख्ने वाचा गरेका थिए। त्यो वाचा उनले गत भाद्र २३ गतेको न्यूज २४  टेलिभिजनमा पनि दोहोर्याएका थिए। 

नगर प्रमुख वडले २०२१ देखि २०३४ सालको नापीको आधारमा कानुनी र प्राविधिक हिसाबले नै नगर बिकासले बाँडेका लालपुर्जा समेत खारेज गर्न ठोस योजना ४५ दिनभित्र ल्याउने उदघोष गरेका थिए। तर त्यो केवल उदकोषमै  सीमित रहेको भन्दै अहिले डुबान पीडित नगरबासी खिन्न भइरहेका छन्।

खोलानालाको किनारमा घडेरी विकास गर्दै नगर विकास समितिले करिब एक हजार बिघा जमिन वितरण गरेसँगै नदी किनार अतिक्रमण गर्ने परिपाटी धनगढीमा संस्थागत भएको जानकारहरू बताउँछन्। 

उप–महानगरपालिकाको आधिकारीक निर्णय र नगर प्रमुख वडको पटक–पटकको प्रतिबद्धता कार्यान्वयन गर्न नसक्दा धनगढीको तरानगर र हसनपुर भएर बग्ने सुकुटी नालामा भने व्यक्तिगत रुपमा अधिकांस ठाउँमा खोला नालामा पर्खाल र घर लगाउने क्रम बढेपनि नगरपालिका र वडा कार्यालयले काम रोक्न समेत आदेश दिन नसकेको बताइएको छ।

तर वडा नम्बर ५ का अध्यक्ष हिरासिंह पातलीले भने सुकुटी नालामा अतिक्रमण रहेको र सो हटाउन आफुले नगरप्रमुखलाई समेत अनुरोध गरेको बताए। 

“खोलामा संरचना बनाउनेहरुले आफुलाई समेत तनाव दिने काम गरेका छन्। मैले काम रोक्न समेत भनी सकेकोले काम रोकिएको छ। सुकुटी नालामा धेरै ठाउँमा अतिक्रमण गरिएको छ,”  उनले भने।

धनगढी उप–महानगरपालिकाले खोलानालाको अतिक्रमण हटाउन अढाई वर्ष अगाडि छानविन समिति बनाएपनि खोलानाला अतिक्रमण गर्नेहरु मध्ये अधिकांसलाई उप–महानगरपालिकाले राजनीतिक समर्थन र आस्थाको कारणले संरक्षण प्रदान गर्न छानबिन प्रतिबेदन समेत सार्वजनिक नगरेको आरोप नगरबासीले लगाउदै आएका छन्।

यसैगरी नगरपालिकाकै कर्मचारीले समेत खोलाको जग्गा ओगटेको कारण अतिक्रमण हटाउन थप चुनौति रहेको बताइन्छ। तर अतिक्रमण हटाउन उपमहानगरपालिका प्रतिबद्ध रहेको भनाइ प्रवक्ता सन्तोष मुडभरीको छ।

गत पुषमा तारानगरकै सुकुटी नालामा गोदाबरी नगरपालिका घर भएका कृष्ण बोगटीको निर्माण हुन लागेको घर हटाउन तदारुकता देखाएको उप–महानगरपालिका त्यसपछि भने सो नालामा गरिएका र हुन लागेका अतिक्रमण बारे बेखबर रहेको नगरबासीले गुनासो गरेका छन्।

नदी किनार अतिक्रमण गरि बनेका सयौँ घर जस्ताको त्यस्तै रहँदा हालै घर भत्काइएका सुकुटी नालाबासी बोगटी मात्र एक्ला दोषी वा पीडित जस्ता देखिएका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस