सुदूर नेपाललाई विश्वसँग जोड्दै

भागरथीको बलात्कारपछि हत्याका अभियुक्त सार्वजनिक

भागरथीको हत्यापछि पक्राउ परेका अभियुक्त दिनेश भट्टलाई सार्वजनिक गर्दै प्रहरी/तस्बिरः बिनोद बिष्ट
भागरथीको हत्यापछि पक्राउ परेका अभियुक्त दिनेश भट्टलाई सार्वजनिक गर्दै प्रहरी/तस्बिरः बिनोद बिष्ट
२०७७ फाल्गुन ५, ०३:०४ खबर संवाददाता

धनगढीः बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका किशोरलाई प्रहरीले सार्वजनिक गरेको छ। 

दोगडाकेदार गाउँपालिका– ७ की भागरथीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अन्दाजी १८ वर्षीय दिनेश भट्टलाई पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो। 

जिल्ला प्रहरी कार्यालय बैतडीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले भट्टले भागरथीको बलात्कारपछि हत्या गरेको बताए। 

भागरथी अध्ययनरत सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने दिनेशले माघ २१ गते भागरथीको पिछा गर्दै लवलेक सामुदायिक वनमा एक्लै भएको मौका छोपेर लडाएर हत्या गरेको खुलेको उनले बताए। 

उनका अनुसार आरोपी भट्टको शंकास्पद गतिविधि, प्राविधिक पक्षको विश्लेषण, लोकेसन, प्रत्यक्षदर्शी र साबिती बयानका आधारमा भागरथीको हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरि सार्वजनिक गरिएको हो। 

भागरथीको हत्या गर्ने पूर्व योजनाअनुसार माघ २१ गते विद्यालयबाट अन्तिम कक्षा छोडेर घर फर्किएको, सिल्लेगडा भन्ने स्थानबाट मृतक भन्दा अगाडी गएर सडकमा कुरेर बसेको, आफू रहेको स्थानमा भागरथी पुग्ने बित्तिकै सडकबाट तल धकेल्दै दुवै हातले घाटी थिचेर हत्या गरेको बयान दिएको डीआईजी सुवेदीले बताए।  

नियन्त्रणमा लिएर घाँटी थिचेर हत्या गरेपनि भागरथीमाथि बलात्कार भने नगरेको दाबी अभियुक्त भट्टले गरेको उनले बताए।
 

अहिले मृतकका दाजु शंकर भट्टले कर्तव्य ज्यान र बलात्कार सम्बन्धी कसुरमा कारवाहीका लागि जाहेरी दर्ता गरेकाले अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भागरथी भोलीपल्ट हत्या गरेको अवस्थामा लवलेक सामुदायिक वनमा फेला परेकी थिइन्।

हत्याको घटना सार्वजनिक भएपछि डीआईजी सुवेदी आफै बैतडी पुगेका थिए। 

घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयकै एसएसपी जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रहरी नायब उपरीक्षकको टोली पनि खटिएको थियो। 

मृतक भागरथीको शव १५ दिनदेखि जिल्ला अस्पताल बैतडीको शव गृहमा राखिएको छ। उनका आफन्तले बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई पक्राउ गरेपछि मात्र शव बुझ्ने अडान लिएका थिए।   
 

कमेन्ट लोड गर्नुस