खोचलेकबाट फूलमाला लगाउँदै डीआईजी सुवेदीसहितका प्रहरी अधिकृत विदा भए
धनगढीः भागरथीको बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कानूनको कठघरामा उभ्याएको भन्दै दोगडाकेदार गाउँपालिकाका स्थानीयले प्रहरीलाई सम्मानसहित विदा गरेका छन्।
घटनाको अनुसन्धानका लागि खोचलेक प्रहरी चौकीमा रहेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी, प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुसहितका प्रहरीको स्थानीय फूलमाला सहित विदाइ गरेका हुन्।
उनीहरुले जघन्य अपराधको घटनाका दोषीको पहिचान गरि कारवाहीको दायरामा ल्याएकोमा प्रहरी अधिकृतहरुलाई धन्यवाद समेत दिएका छन्।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट फर्किने बेला बेपत्ता भएकी थिइन्।
भोलीपल्ट माघ २२ गते उनी स्थानीय लवलेक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी छन्।
उनको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई पक्राउ गरेको छ।
उनले अपराध स्वीकार गरिसकेको प्रहरीको दाबी छ। बुधबार दिउँसो उनलाई पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गर्दैछ।