नरभक्षी बाघ नियन्त्रक टोली अझै पुगेन कैलाली, ४ वटा ट्रयापिङ क्यामेरा जडान
![कैलालीमा देखिएको नरभक्षी पाटे बाघ, फोटो सौजन्यः डिभिजन वन कैलाली](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/Tiger_kailali_traping%20copy.jpg?itok=wbBPwSAe)
धनगढीः नरभक्षी पाटेबाघको आक्रमणबाट कैलालीकी कला धामीको मृत्यु भएको ३ दिनदिन बितेको छ। बाघ अति प्रभावित कैलालीको गौरीगंगा नगरपालिका र कैलाली गाउँपालिका क्षेत्रमा दैनिक जसो नरभक्षी बाघ देखा पर्दै आएको छ।
सोमबार मात्रै गौरीगंगा नगरपालिका ५ अन्डैयाकी २५ वर्षीया कला धामीलाई आक्रमण गरि ज्यान लिएकै क्षेत्र आसपासमा पनि बाघ देखिएको वडा अध्यक्ष जंग बिक बताउँछन्। तर सो बाघलाई नियन्त्रणमा लिने तथा व्यवस्थापन गर्ने वन तथा सुरक्षा निकायको प्रयासले सार्थकता पाउन नसकेको हो।
डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले बाघलाई नियन्त्रणको प्रयास जारी रहेको बताएका छन्। जसक्रममा बर्दिया राष्ट्रिय निकुञ्जलाई प्राविधिक टोली खटाउनको लागि पत्रचार गरेको भएपनि हालसम्म सो टोली प्रभावित क्षेत्र नपुगेको हो। तर आज टोली प्रभावित क्षेत्र पुग्ने डिभिजन प्रमुख कँडेल बताउँछन्।
टोलीले बाघले बढी मुभमेन्ट गर्ने स्थानको निरीक्षण, प्रभावित स्थानीय सँग छलफल र ट्रयापिङ गर्ने उनको भनाइ छ।
यसैबीच डिभिजन वनले बाघले बढी ओहोरदोहोर गर्ने स्थानमा ४ वटा ट्रयापिङ क्यामेरा जडान गरेको छ। थप क्यामेरा पनि अडान गरिने बताइएको छ।
गत शुक्रबार कैलारी गाउँपालिका–८ स्थित सीताकुँवा सामुदायिक वनमा विवाहको लागि चाहिने पात टिप्न गएका दुधियाका २८ वर्षीय दुर्गाप्रसाद चौधरीमाथि बाघले आक्रमण गरेको थियो। बाघसँगको जम्काभेटमा उनी घाइते भएका थिए।
सेती प्रादेशिक अस्पतालमा उपचाररत चौधरीको टाउको र पिठ्युको भागमा घाउ छ। तर आफ्नो स्वास्थ्य अवस्था राम्रो हुँदै गएको र हिड्न सक्ने भएको चौधरीले दिनेशखबरलाई बताए। आक्रमण गरेको ७२ घण्टाभित्र पहिलो रेबिज भ्याक्सिन लिएको बताउँदै चौधरीले डाक्टरको सल्लाह अनुसार दोस्रो भ्याक्सिन फागुन ५ गते र तेस्रो भ्याक्सिन फागुन ९ गते लिनुुपर्ने भएकोले अस्पतालले डिस्चार्ज नगरेको जानकारी दिए।
यसअघि चौधरीलाई उपचारको लागि सेती प्रादेशिक अस्पतालबाट रेफर गरिएर नेपालगञ्ज पठाइएको बताइएको थियो।
![add](https://dineshkhabar.com/sites/default/files/1736663280234.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)