भागरथीको हत्यारा छिट्टै सार्वजनिक नगरे सनातन धर्म माविका विद्यार्थीद्वारा आत्मदाह गर्ने चेतावनी
बैतडी: बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया किशोरी भागरथीलाई न्याय दिनुपर्ने भन्दै विद्यार्थी र अधिकारकर्मीहरुले घण्टी जुलुस निकालेका छन्।
भागरथीले अध्ययन गरेको विद्यालय सनातन धर्म मावि खोचलेकका विद्यार्थी, युवा र महिला अधिकारकर्मीले सोमबार घण्टी जुलुस प्रर्दशन गरेका हुन।
सनातन धर्म माविबाट सुुरु भएको जुलुस खोचलेक बजार परिक्रमा गरेर प्रहरीचौकी अगाडि कोणसभामा परिणत भएको थियो।
कोणसभामा बोल्दै विद्यार्थी, युवा र महिला अधिकारकर्मीहरुले भागरथीका हत्यारालाई छिटो भन्दा छिटो पत्ता लगाउनुपर्ने माग गरेका छन्।
भागरथीका हत्यारा पत्ता लगाउन ढिलो गरेमा विद्यार्थी तथा युवाहरुले आत्मदाह गर्ने चेतावनी समेत दिएका छन्।
भागरथीको बलात्कारपछि हत्या भएको १२ दिन बितिसक्दा समेत हत्यारा पत्ता लाग्न सकेका छैनन्।
प्रहरीले भने अनुसन्धान जारी रहेकाले छिट्टै हत्यारा सार्वजनिक हुने बताइरहेको छ।