सुदूर नेपाललाई विश्वसँग जोड्दै

भागरथीको गाउँमा भएका थिए ५ हत्या, आजसम्म पत्ता लागेनन् अपराधी !

२०७७ फाल्गुन ३, ०१:०७ खबर संवाददाता

बैतडी: बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको अनुसन्धान निष्कर्ष केन्द्रीत बनेको प्रहरीले बताइरहेको छ। 

बलात्कारपछि हत्या प्रकरणमा दर्जन बढी व्यक्तिहरुमाथि सोधपुछ गरेको प्रहरीले पछिल्लो अनुसन्धान निष्कर्ष केन्द्रीत भएकाले चाँडै टुङ्गोमा पुग्ने बताइरहेको हो। 

भागरथी भट्टको बलात्कारपछि हत्या भएको सोमबार १३ दिन पुगको अवस्थामा घटनामा संलग्नको ठोस पहिचान भने प्रहरीले गर्न सकेको छैन।

प्रहरीको अहिलेसम्मको अनुसन्धानले भागरथीको बलात्कारपछि हत्या भएको घटनामा स्थानीय व्यक्तिकै संलग्नता रहेको अनुमान गरिएको छ। तर, अहिलेसम्म कसैलाई पक्राउ भने गरिएको छैन।

सोधखोज गरे अनुसार भागरथीकै गाउँपालिकाका दुई जना व्यक्ति प्रहरीको उच्च निगरानीमा छन्। 

दुई जनामध्ये एक जना त्यही दिन भारत गएको अनुसन्धानले देखाएको छ भने अर्को एकजना सार्वजजिक पद धारण गरेको व्यक्ति रहेको स्रोत बताउँछ। उनलाई भागरथीले केही दिन पहिले आफ्नो आवश्यक वा नगरी नहुने कामका लागि भेटेको देखिएको छ।

तर अचम्म लाग्दो कुरा त के भने भागरथी अनुन्धानका क्रमा केही पुराना घटनाबारे स्थानीयले बताएका छन्। ती सबको अनुसन्धान हालसम्म नभएको उनीहरु बताउँछन्। 

दोगडाकेदार अन्तर्गत पर्ने साबिकको देउलेक गाविसमा यो घटनाअघि भएका ५ जनाको हत्या घटनामा अनुसन्धान नै नभएको उनीहरुले गुनासो गरेका छन्।  

दोगडाकेदार–७ रिखालीकी करिब ६५ वर्षीया वृद्धा खुर्रा कार्कीको २०६५ सालमा धारिलो हतियारले हत्या भएको थियो।  तर उक्त घटनाको अनुसन्धान भएन। घरको छाना फुटाएर उनको हत्या गरी गहना झिकेर लगेका अपराधीको हालसम्म पत्ता लागेको छैन। 

यस्तै २०६३ सालमा रिखालीकै गगनसिंह कार्कीको शव बोरामा हालेर फालिएको अवस्थामा सडकमा फेला परेको स्थानीय नवराज भट्टले बताए ।गगनसिंहको शवलाई सनातन धर्म माध्यमिक विद्यालयको छेउबाट सडकमा खसालिएको जस्तो देखिएतापनि कसले फाल्यो भन्ने अहिलेसम्म नखुलेको उनले बताए। 

यस्तै दोगडाकेदार–७ मल्लागाउँका जयसिंह कार्की २०७४ भदौ १४ गते साँझतिर साथीभाइसँगै दारकुडी मन्दिरमा मेला भर्न गएका थिए। उक्त मेलामा उनका भतिजा भोजबहादुर पनि थिए। राति नै एकपल्ट भतिजाको झगडा हुँदा उनले छुट्याएका थिए। तर बिहान जयसिंहको शव फेला पर्यो। 

हत्याको आशंकामा परिवारले जिल्ला प्रहरी कार्यालयमा तीन जनाको नाममा किटानी जाहेरी दिए पनि प्रहरीले दर्ता गर्न नमानेको भोजबहादुर बताउँछन्। हत्या नै भएको अवस्थामा प्रहरीले जाहेरी दर्ता नगरेपछि सरकारी वकिल कार्यालयमा जाहेरी लेखाएर तत्कालीन क्षेत्रीय प्रहरी कार्यालय दिपायल र काठमाडौंसम्म पठाएको तर त्यहाबाट कुनै खबर नआएको उनले बताए। 

यसैगरी एक जना भट्ट थरका पुरुष र अर्का एक जनाको हत्या भएको स्थानीय बासिन्दा बताउँछन्। 

एउटै गाउँमा भएका यी घटनामा गुपचुपमा राख्ने गरिएकैले अपराधका घटनाले निरन्तरता पाएको होकी भन्दै स्थानीयले आशंका गरेका छन्। ‘यसअघि भएका हत्या घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गरेको भए भागरथीको बलात्कारपछि हत्या घटना हुँदैनथ्यो होला’ एक स्थानीयले भने। 

विगतका घटनामा प्रहरीले वास्ता नगर्नुमा घटनामा राजनीतिक पहुँच भएका व्यक्तिका आफन्त दोषी भएको स्थानीयको आरोप छ। 

यस विषयमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले बुझेको र सबै घटनाको अनसन्धान थाल्ने बताएका छन्। भागरगी हत्याको अनुसन्धानका लागि दोगडाकेदार–३ को खोचलेक प्रहरी चौकीमा रहेका उनले आफू आइसकेपछि स्थानीय र जनप्रतिनिधिबाट घटनाबारे सुनेको र दुइवटा घटनाका सम्बन्धित व्यक्ति सोमबार आफूसँग छलफल गर्न आउने बताए।

एउटै गाउँमा एकै प्रकृतिका ५ वटा हत्या र गुपचुप हुनु ठूलो घटना भएकाले स्थानीय प्रहरीलाई प्रारम्भिक अनुसन्धान सुरु गर्न निर्देशन दिइसकेको उनी बताउँछन्। 

कमेन्ट लोड गर्नुस