सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस नेता लेखकले भेटे भागरथीका आफन्त, परिवारलाई २ लाख सहयोग

२०७७ फाल्गुन २, ०५:५१ खबर संवाददाता

बैतडी: आइतबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले बैतडीकी भागरथी भट्टका आफन्तलाई भेटेका छन्। 

भागरथी हत्याको विषयमा सत्यतथ्य बुझ्न बैतडी पुगेका लेखकले चडेपानीमै गएर आफन्तसँग भेटघाट गरेको उनका स्वकीय सचिव जनक भट्टले बताए। भेटघाटका क्रममा भागरथीका हत्यारा पत्ता लगाउन आफ्नो पार्टीले सबै पक्षबाट सहयोग गर्ने उनले बताएका छन्। 

नेपाली कांग्रेसले भागरथी हत्याका विषयमा सत्यतथ्य बुझ्न कांग्रेस केन्द्रिय सदस्य लेखकलाई बैतडी खटाएको थियो। 

साथै नेता लेखकले भागरथी हत्या प्रकरणको अनुसन्धान गरिरहेका सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीसँग अनुसन्धानका बारेमा जानकारी समेत लिएका छन्।  उनले अनुसन्धानमा ढिलाई नगरी छिटो दोषी पत्ता लगाउन प्रहरीसँग आग्रह गरेको स्वकीय सचिव जनक भट्टले बताए। 

यसैबीच नेपाली कांग्रेसले मृतक भागरथीका आमा द्रोपती भट्टलाई २ लाख नगद सहयोग प्रदान गरेको छ। कांग्रेस केन्द्रिय कार्यालयले पठाएको सहयोग रकम नेता लेखकले मृतकका आमालाई हस्तान्तरण गरेका हुन। मृतकका आमालाई केही सहयोग पुगोस भनेर पार्टीका तर्फबाट सहयोग गरिएको नेता लेखकले बताए। 

भागरथीलाई न्याय माग्दै सुर्नयामा प्रदर्शन
बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टलाई न्याय दिनुपर्ने भन्दै जिल्लाको सुर्नया गाउँपालिकामा महिला तथा युवाहरुले प्रदर्शन गरेका छन्।

सुर्नया गाउँपालिकास्थित नयाँ पाइला मुक्त हलिया बचत तथा ऋण सहकारी संस्था र उदयदेव महिला कृषक सहकारी सस्ंथाले सयुक्त रुपमा र्‍यालीसहित प्रर्दशन गरेका हुन। 

यस्तै रौलेश्वर माविका विद्यार्थीहरुले पनि विद्यालयबाट गाउँपालिकाको केन्द्रसम्म र्‍याली निकाल्दै गाउँपालिका कार्यालय प्रांगणमा कोणसभा गरेको सुर्नया बाल सञ्जाल अध्यक्ष भरत बिष्टले बताए।

यसैगरी सुर्नया ५ धुलिधारस्थित सिद्धनाथ आधारभूत बिद्यालयका विद्यार्थीहरुले पनि प्रर्दशन गरेका छन्। 

कमेन्ट लोड गर्नुस