सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘डडेल्धुरा सेमी कभर्ड हल’ अलपत्र, १० लाखमा ८ पिल्लर !

२०७७ फाल्गुन २, ०३:३८ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–४ खलंगामा ३२ वर्षपहिले निर्माण भएको कभर्डहल  २०७५ असार ३० मा भत्कियो। एक वर्षसम्म भत्किएको जिर्ण घर जस्ताको त्यस्तै रह्यो। 

२८ बैशाख २०७६ मा विघटित प्रतिनिधिसभा सदस्य एवं राज्यको निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापति नीरादेवी जैरूले एक कार्यक्रमकाबीच ‘डडेल्धुरा सेमी कभर्ड हल’को शिलान्यास गरिन्। 

कभर्ड हल शिलान्यासका क्रममा स्वयम् जैरू, अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझा र तत्कालीन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्रबहादुर मगरले छिट्टै कभर्ड हल निर्माण हुने बताए। तर, शिलन्यास भएको २१ महिना भन्दा बढी हुँदा समेत कभर्ड हल अलपत्र परेको छ। 

उक्त कभर्ड हलको लम्बाइ ३० मिटर, चौडाइ २० मिटर र उचाइ ३० फिटको हुने डडेल्धुरा जिल्ला खेलकुद विकास समितिले जनाएको छ। 

आर्थिक अभावले गर्दा  ‘डडेल्धुरा सेमी कभर्ड हल’ अलपत्र परेको जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुख डम्बर भण्डारीले बताए।  डेढ वर्षभित्र उक्त सेमी कर्भड हल निर्माण गरिसक्ने लक्ष्यका साथ अगाडि बढेको भएपनि आर्थिक अभावले सेमी कभर्ड हलको काम अगाडी बढ्न नसकेको भण्डारीको भनाइ छ। 

१० लाखमा ८ पिल्लर निर्माण 
राष्ट्रिय खेलकुद परिषद्बाट सेमी कभर्ड हलका लागि १० लाख रुयौयाँ निकासा गरिएको थियो। तर, स्वो रकमले कभर्ड हल निर्माणका लागि ८ वटा पील्लर मात्रै ठडिएका छन्। 

परिषद्बाट  आएको रकमले जिर्ण कभर्डहलको सामग्री सार्न र पर्खाल निर्माण गरिएकोले ८ वटा पिल्लर मात्रै ठडिएको खेलकुद विकास समितिले जनाएको छ। 

कभर्ड हल निर्माणको लागि ८ वटा पिल्लर मात्रै हालिएको र अन्य कार्य नभएको अवस्थामा क्रमागत रूपमा बजेट निकासा हुनुपर्नेमा कोरोनाका कारण बजेट निकासा नहुँदा निर्माण गर्न समस्या भएको प्रमुख भण्डारीले बताए। 

‘गत वर्ष राखेपबाट नै स्विकृत भएर बजेट निकासा भएको थियो। तर, अहिले निकासा भएको छैन। त्यहि भएर निर्माण अलपत्र छ,’ उनले भने, ‘२ रोपनी जग्गामा ८ वटा पिल्लरसहित फाउन्डेसन भएको छ।’

कभर्ड हल निर्माणका लागि प्रस्ताव पेश गरेका छौंः अमरगढी नगरपालिका 
देश संघीयतामा गएपश्चात स्थानीय तहमा बजेट जाने भएकोले स्थानीय सरकारले खेलकुद गतिविधि सञ्चालन गर्नुपर्ने हुन्छ। तर, कभर्ड हल भत्किएको महिनौँ हुँदासमेत अमरगढी नगरपालिकाको ध्यान त्यतातिर पुग्न सकेको छैन्। 

अमरगढी नगरपालिकाले खेलकुद गतिविधि सञ्चालन गर्न ध्यान नदिएको यहाँका खेलप्रमी युवाहरूको गुनासो छ। 

उता अमरगढी नगरपालिकाले आर्थिक अभावको कारण सेमी कभर्ड हल निर्माण कार्य अलपत्र परेको जनाएको छ। कभर्ड हल अहिले नै बन्न सक्छ भनेर भन्न सक्ने अवस्था नभएको अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाको भनाइ छ। उनले प्रस्ताव पेश गरेको र स्विकृत भएपछि कभर्ड हल निर्माण हुने बताएका छन्।

‘जनताका आवश्यकता असिमित छन्। स्रोत साधनको कमि छ। संघीय सरकाले केही बजेट विनियोजन गरेको थियो। र, हामीले काम अगाढी बढाएका थियौँ,’ उनले भने, ‘यो वर्ष पनि कभर्ड हलको निर्माणका लागि संघीय सरकारलाई हामीले प्रस्ताव पेश गरेका छौँ।’

जिल्लाको महत्वपूर्ण र एकमात्र कर्भड हल भत्किँदा जिल्लाका इनडोर खेलकुदका कार्यक्रम प्रभावित बनेका छन्। इनडोर खेलहरू खेल्नका लागि हलको प्रयोग हुनेहुँदा आजभोलि जिल्लामा खेलकुद गतिविधि शून्य बनेको छ। 

ब्याडमिन्टन, टेबलटेनिस, कराते, बक्सिङ, चेस जस्ता भित्र खेलिने खेलहरू बाहिर मैदानमा खेल्दा हावाले प्रभावित हुनेहुदा कर्भड हलको आवश्यकता पर्ने खेलाडीहरु बताउँछन्। 

कमेन्ट लोड गर्नुस