सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुर्घटना न्यूनीकरणका लागि डडेल्धुरामा ‘डमी ट्राफिक’को प्रयोग

२०७७ फाल्गुन २, ११:१३ खबर संवाददाता

हरिश चन्द, डडेल्धुरा : डडेल्धुरामा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि २ स्थानमा ‘डमी ट्राफिक प्रहरी’ राखिएको छ।

‘ट्रफिक नियमको पालना गरौ’ लेखेको प्लेकार्ड समातेर उभिएका ट्राफिक प्रहरी जस्तै देखिने डमी तुफानडाँडा चोक र स्याउले चोकमा राखिएको जिल्ला ट्राफिक कार्यालय स्याउले डडेल्धुराले  जनाएको छ ।

झट्ट टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले गाडीको गति कम गर्ने र सर्वसाधारणले पनि ट्राफिक नियमको पालना गर्दा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने  बताइएको छ। त्यसले जनशक्ति अभावलाई समेत केही हदसम्म टार्ने भएकाले डमीको प्रयोग उपयोगी मानिएको जिल्ला ट्राफिक कार्यालय स्याउले जनाएको छ।

रातिको समयमा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकले उक्त डमी देखेपछि डराउने र तिव्र गतिमा चलाउनेले पनि गति कम गर्ने हुँदा त्यसले केही हदसम्म आफुहरुलाई सहयोग मिल्ने गरेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख सावन सिह क्षेत्री भाटले बताए। 

डडेल्धुरा बजारको क्षेत्रफल ठुलो भएको र ट्राफिक जनशक्ति कम हुँदापनि आफुहरु निरन्तर रुपमा ट्राफिक व्यवस्थापन गर्दै आइरहेको उनले बताए। यस्तै जिल्लामा सबैभन्दा बढी दुर्घटना हुने क्षेत्रमा पनि डमी ट्राफिक थप्ने तयारी रहेको बताइएको छ। 

तराईदेखि पहाड आवतजावत गर्दा ठाँउठाँउमा राखिएका डमी देखेपछि गाडी विस्तारै हाक्ने गरेको सवारी चालकहरुले बताएका छन्। 


 

कमेन्ट लोड गर्नुस