सुदूर नेपाललाई विश्वसँग जोड्दै

नाइकेहरुको जीवनशैली फेरियो तर युद्ध लड्ने पीडित परिवारको बिजोग

२०७७ फाल्गुन १, ०७:०६ नारायण अवस्थी

धनगढी: नेपालमा सशस्त्र जनयुद्ध सुरु भएको फागुन १ गते २६ वर्ष पुरा भएको छ।

२०५२ साल फागुन १ गते तात्कालिन माओवादीले नेपालमा सशस्त्र द्वन्दको सुरुवात गरेको थियो।

राज्य सत्ता बन्दुकको नालमा अडिएको हुन्छ र बन्दुकबाटै राज्य सत्ता कब्जा गर्नुपर्छ भनेर सुरु गरिएको द्वन्द १० वर्षसम्म चल्यो।

राज्य र बिद्रोही पक्षबाट १७ हजार व्यक्तिको अकालमा ज्यान गयो, हजारौ बेपत्ता, अङ्गभङ्ग र लाखौं द्वन्द्वको चपेटामा परे। तत्कालीन माओवादी विद्रोहमा आफुहरुले अनाहकमा दुःख पाएको द्वन्द्वपीडित साझा चौतारीका प्रदेश संयोजक गणेशबहादुर मल्लले बताए। 

‘सबैका लागि समान र बराबरी स्थिति ल्याउछौँ भनेर बिद्रोह गरिएको भएपनि सिमित नेता र कार्यकर्ताको मात्रै भरणपोषण गरि माओवादी नै नव सामन्त भएका छन्’ मल्लले भने।

यस्तै कैलारी गाउँपालिका वडा नम्बर ८ का बिनोद चौधरी जनयुद्धताका सरकारी विद्यालयमा स्थायी शिक्षक थिए। २०५५ सालमा सुरक्षा फौजले शिक्षक चौधरीलाई माओवादी भन्दै घरबाटै गिरफ्तार गरि ३ वर्ष जेल सजाय दियो। 

२०५७ मा जेलबाट छुटेका शिक्षक चौधरी पुनः २०५८ फागुन २८ गते रामशिखरझालाबाट संयुक्त सुरक्षा फौजले गरेको सर्च अप्रेशनमा पक्राउ परे। तर त्यसपछि भने हालसम्म आफ्ना पतिको अवस्था अज्ञात रहेको र राज्य पक्षले बेपत्ता पारेको उनकी पत्नी कृष्णी चौधरीले बताइन। 

शान्ति प्रक्रियामार्फत तत्कालीन माओवादी मूलधारको राजनीतिमा आएर पटकपटक सत्तामा पुगेको भएपनि बेपत्ता पारिएका व्यक्तिको खोजी गरि पीडित परिवारको दुःख कम गर्न नसकेको र बिद्रोहताका देखाइएको सपना पुरा गर्न तात्कालिन माओवादी नेतृत्व र वर्तमान नेकपा सरकारले नसकेको उनले बताइन। 

यस्तै डोटीका भरतबहादुर बोहरा माओवादी लडाकु थिए।  सशस्त्र बिद्रोहका कारण नेपालमा राजनीतिक आमुल परिवर्तन भएर तत्कालिन माओवादी शासन सत्तामा पुगेपनि जनतासँग गरिएका विकास, शान्ति र समृद्धिको बाचा पुरा नभएको उनी बताउँछन्। 

‘राजनीतिक उपलब्धी हासिल गर्न १० वर्षे सशस्त्र बिद्रोहबाट सफल भएपनि राज्य सञ्चालन गर्दा भने विगतमा गरिएका बाचा पुरा हुन सकेको छैनन्’ बोहराले भने। 

माओवादी सशस्त्र बिद्रोहका दौरान मुलुकभर १७ हजारको ज्यान गयो। ठूलो संख्यामा बेपत्ता, घाइते र कुनै न कुनै रुपमा प्रभावित हुनेको संख्या लाखौं छ।

माओवादी सशस्त्र बिद्रोहकोे जगमा देशमा राजनीतिक व्यवस्था परिवर्तन भएको दाबी गरिन्छ। राजतन्त्रको ठाउँमा संघीय गणतान्त्रिक शासन व्यवस्था कायम छ। तर त्यही गणतन्त्रको लागि ज्यानको आहुती दिएका व्यक्तिका परिवारजन, घाइतेलगायतले पार्टी र नेताहरुले आफुलाई बिर्सेको दुखेसो सुनाएका छन्। 

जनताको जनजिविकामा कुनै परिवर्तन नभएपनि तत्कालीन बिद्रोहको नेतृत्व गरेका नेताहरु हाल विलासितामा भुलेको द्वन्द्वपीडितले गुनासो गरेका छन्।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस