द्रुत मार्ग ओझेलमा पार्न राजनीतिक चलखेल
द्रुत मार्ग निर्माण भए, महाकाली राजमार्ग र निर्माणधिन सेती लोकमार्गको भविष्य नहुने भन्दै योजनालाई ओझेलमा पार्ने चलखेल भएको आरोप लागेको छ । पहाडी जिल्लाबाट तराईमा बसाईसरी आएका र अध्ययनका क्रममा आएर संघसस्थानमा एकवद्ध भएकाहरुले यस्तो आरोप लगाएका हुन् । द्रुत मार्ग निर्माण भए अहिले सञ्चालनमा रहेको महाकाली राजमार्ग अन्तरगतको भिमदत्त पन्त राजमार्ग र केआईसी राजमार्ग तथा निर्माणाधिन अवस्थामा रहेको सेती लोकमार्ग ओझेलमा पर्ने भएकाले द्रुत मार्गको योजना ओझेलमा परिरहेको उनीहरुको तर्क छ । अछाम विद्यार्थी एकता मञ्चका अध्यक्ष सोकेन्द्र थलारीले राजनीतिक खिचातानीकै कारण अहिले द्रुत मार्ग अन्यौलमा फसेकाले अव निर्णायक जनदवावको आवश्यकता देखिएको बताए ।
अछाम सेवा समाजका उपाध्यक्ष कष्णराज जैशीको पनि थलारीको कुरामा सहमती छ । द्रुत मार्ग निर्माण भए, कैलालीबाट पहाडी तीन जिल्ला र पहाडी तीन जिल्लाबाट कैलालीका आउनका लागि अहिलेको भन्दा एक सय किलोटिमर कम दुरी हुन्छ । डोटी क्षेत्रबाट कैलाली सरेका जनताको सक्रियतामा सुरु भएको योजना पछिल्लो समय जनदवाव श्रृजना नहुँदा कसैको पनि प्राथमिकतामा पर्न सकेको छैन् । डोटी कैलाली विद्यार्थी मञ्चका पुर्व अध्यक्ष मोहन ओझाले योजनालाई ओझेलमा पार्ने चलखेल हुनु दुखत रहेको बताए । बाजुरेली समाजका सचिव दिपेन्द्र वहादुर थापाले उच्च स्तरमा राजनीतिक चलखेल भएकै कारण योजना अहिले सम्म अपुरै रहेको बताए ।
अहिले कैलाली जिल्लामा डोटी, अछाम र बाजुरा जिल्लाबाट बसाईसरी आएका र अध्ययनका लागि आएका विद्यार्थीहरुले विभिन्न समितीहरु गठन गरेका छन् । जिल्लागत समाज बाहेक विभिन्न गाउँ टोलका समाजहरु पनि धनगढी लगायतका स्थानमा गठन भएका छन् । उनीहरुले पनि द्रुत मार्ग निर्माणका लागि दवाव दिन सकेको देखिन्न । यता गड्सेरा समाजका अध्यक्ष सुवाश भण्डारीले भने अव जनता आक्रोसीत भईसकेको बताए ।
उनले छिट्टै आन्दोलनका लागि सडकमा आउने तयारी पनि भईरहेको बताए । कैलाली, डोटी, अछाम र बाजुरा जिल्लाको समृद्धिसंग जोडिएको धनगढी दिपायल–फास्ट ट्रयाकको काम ६ महिनादेखि अवरुद्ध छ । प्रदेश सरकार र संघिय सरकारले योजनालाई एक अर्काको जिम्मा लगाएर योजना कार्यान्वयनको जिम्मेवारीबाट पन्छिने कसरत गरिरहेका छन् । द्रुत मार्गको भविष्य संकटमा पार्नका लागि उच्च स्तरमा राजनीतिक खिचातानी भईरहेकाले त्यस्का विरुद्ध सडकमा उत्रिनुको विकल्प नभएको डोटेली समाज कैलालीका अध्यक्ष तथा प्रदेश सभा सदस्य डिल्लीराज पन्तले बताए ।