सुदूर नेपाललाई विश्वसँग जोड्दै

भागरथी हत्या प्रकरणः प्रहरी अनुसन्धान निष्कर्षतिर, संदिग्धको बयान पुष्टि गर्न तथ्य भिडाइँदै

२०७७ फाल्गुन १, ०३:५२ खबर संवाददाता

धनगढीः बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेकी १७ वर्षीया भागरथी भट्टको अनुसन्धान निष्कर्ष केन्द्रीत भएको प्रहरीले जनाएको छ। 

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भट्टको बलात्कारपछि हत्या प्रकरणमा दर्जन बढी व्यक्तिहरुमाथि सोधपुछ गरेको प्रहरीले पछिल्लो अनुसन्धान निष्कर्ष केन्द्रीत भएकाले चाँडै टुङ्गोमा पुग्ने बताएको हो। 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले मृतक भट्टसँग कुनै न कुनै किसिमले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नजिकिएका व्यक्ति र सम्भावित सबै व्यक्तिलाई निगरानीमै राखिएको बताउँदै छिट्टै अन्तिम निष्कर्षमा पुगिने बताए। 

‘सोधपुछ पश्चात केही संदिग्धलाई हामीले विशेष रुपले अन्य माध्यम र तथ्यबाट घटनामा संलग्न छ छैन् भन्ने कुरा भेरीफाई गरिरहेका छौँ।’ दिनेशखबरसँग कुराकानी गर्दै वरिष्ठ प्रहरी सिंहले भने, ‘त्यसकारण अब आउने हप्ता हामी यो घटनाको निचोडमा पुग्छौँ।’

स्रोतका अनुसार प्रहरीले भागरथी वेपत्ता भएको दिन घटनास्थल आसपासमा देखा परेका केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ। ‘उनीहरुले प्रहरीलाई बयान समेत दिइसकेका छन् र उक्त बयानका आधारमा तथ्य भिडाइँदैछ’ स्रोतले दिनेशखबरसँग भन्यो। 

गत बुधबार विद्यालयबाट फर्किने क्रममा वेपत्ता भएकी भागरथी बिहीबार हत्या गरेको अवस्थामा स्थानीय लवलेक सामुदायिक वनमा फेला परेकी थिइन्। 

कक्षा १२ मा अध्ययनरत भागरथीको हत्यापछि न्यायका लागि बैतडीसहित सुदूरपश्चिमका ९ वटै जिल्ला र संघीय राजधानी काठमाडौँ लगायतका ठाउँमा दैनिकजसो प्रर्दशन भइरहेका छन्। 

घटनाको अनुसन्धानका लागि एसएसपी र केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका डीएसपीको नेतृत्वमा छुट्टाछुट्टै टोली १० दिनदेखि खोचलेकमा छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी पनि ७ दिनदेखि खोचलेकमै छन्। 

कमेन्ट लोड गर्नुस