सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका मनकारी पत्रकार सिंह, जसको नामबाट पुरस्कार पाए उसकै परिवारलाई हस्तान्तरण गरे

२०७७ फाल्गुन १, ०३:४५ खबर संवाददाता

धनगढी : नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष तथा पत्रकार प्रकाश सिंहले सम्मानवाफत पाएको रकम सहयोग गरेका छन्। उनले जसको नामबाट पुरस्कार पाए उनकै परिवारलाइ हस्तान्तरण गरेका हुन्।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको दोस्रो साधारण सभाबाट सिंहलाई जेपी जोशी स्मृति पत्रकारीता पुुरस्कार २०७७ बाट सम्मानित गरिएको थियो। उक्त सम्मानसँगै पाएको १२ हजार नगद 
उनले जेपी जोशीको घरमै पुगेर पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाँउलेमार्फत परिवारलाई हस्तान्तरण गरेका छन्। 

कैलालीको गोदावरी नगरपालिका–३ मालाखेती बस्दै आएका जेपी जोशीका परिवालाई भेटर रकम प्रदान गरिएको पत्रकार सिंहले बताए। जेपी जोशीका नाममा स्थापना भएको पत्रकारिता पुरस्कारले
उनको परिवारलाई थोरै भएपनि राहत मिलोस् भन्ने उदेश्यले सहयोग गरेको उनले बताए।

रकम हस्तान्तरण तथा जोशीको परिवारिक अवस्था बुझ्न पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाँउले, सुदूरपश्चिम प्रदेश पत्रकार महासंघका अध्यक्ष अर्जुन शाह र पत्रकार प्रकाश सिंह घर पुगेका थिए। 

जेपी जोशी २०६५ असोज २२ गते बेपत्ता भएका थिए भने सोही साल मंसिर १३ गते मालाखेती जंगलमा उनको शव भेटिएको थियो। जोशीकी श्रीमती बसन्ती जोशी, छोरीहरु पुजा र गीता रहेका छन्। पुजा कक्षा १० मा र गीता कक्षा ६ मा अध्ययनरत छिन्। 

अध्ययनका लागि ५ वर्षसम्म पत्रकार महासंघ केन्द्रीय शाखाले सहयोग गरेको भएपनि डेढ वर्षयता कतैबाट सहयोग नहुँदा विद्यालयको शुल्क समेत तिर्न नसकेको बसन्तीले बताइन। ‘न श्रीमानको हत्यारा पत्ता लाग्यो नत परिवार पाल्न सक्ने अवस्था छ’ रुँदै उनले भनिन्। विद्यालयबाट पटकपटक शुल्क माग्ने गरेको तर कतैबाट तिर्न नसक्दा समस्या भएको उनले बताइन। 

घरमै पुुगेका पूर्व पत्रकार महासंघका अध्यक्ष शिव गाँउलेले छोरीहरुलाई पढाउनका लागि पत्रकार महासंघ तथा अन्य निकायसँग पहल गर्ने प्रतिबद्धता जनाए।  त्यस्तै प्रदेश अध्यक्ष अर्जुन शाहले पनि सहयोगका लागि पहल गर्ने बताएका छन्। 

पत्रकार सिंहले विगतमा पनि आफुले पाएको पुरस्कार सहयोग गर्ने गरेका थिए। गत वर्ष पाएको इन्जा अवार्डवाफतको ५ सय डलर पनि उनले कुपोषित बालबालिकाको उपचारमा सहयोग गरेका थिए।

सिंह बाजुरामा एक दशकदेखि पत्रकारिता पेशामा आवद्ध रहेको छन्। पत्रकारिता मात्रै नभई बाजुराका असायहरुको सेवामा उनी समर्पित हुने गर्छन। उनले पत्रकारितासँगै सहाराविहिन ७१ जना बालबालिकाको उद्धार गरिसकेका छन्। त्यति मात्र नभई उनले उपचार नपाएर अलपत्र रहेका दुई दर्जन भन्दा बढीलाई आर्थिक सहयोग संकलन गरि प्रदान गरेका छन्। 

प्रकाशले बैठक तथा गोष्ठिमा उपस्थित भएवापत पाएको ६५ हजार ३ सय रुपैंया विभिन्न पीडितलाई सहयोग गरेका छन्। यस्तै बाजुराको ग्रामिण क्षेत्रमा आर्थिक अभावमा उपचार नपाएर अलपत्र रहेका २७ जनालाई सहयोगवापत १७ लाख बढी रकम संकलन गरि उनले हस्तान्तरण गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस