सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रृंखलाबद्ध बलात्कारका घटनाले किशोरीमा मनोवैज्ञानिक संत्रास !

२०७७ माघ ३०, ०२:३३ नारायण अवस्थी

धनगढीः बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको न्यायका लागि सुदूरपश्चिममा विगत ८ दिनदेखि विद्यार्थीहरु सडकमा छन्। पीडितलाई न्यायको लागि दिनहुँ प्रर्दशन गरिरहेका छन्।

विद्यालयबाट फर्किने क्रममा बलात्कारपछि हत्याको शिकार बनेकी भागरथीको न्याय र बालिका तथा किशोरीहरुको सुरक्षाका लागि भन्दै उनीहरु पढ्ने समयमा सडकमा संघर्षरत छन्। श्रृंखलाबद्ध रुपमा भइरहेका बलात्कार र बलात्कारपछि हत्याका घटनाले मनोवैज्ञानिक असर पारेको किशोरीहरु बताउँछन्। 

धनगढीको पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत किशोरी लक्ष्मी जोशीले  श्रृंखलाबद्ध रुपमा भइरहेका बलात्कार र बलात्कारपछि हत्याका घटनाले हिडडुल गर्दा समेत मनमा डर लाग्नेको बताउँछिन्। राज्यले सुरक्षाको प्रत्याभुति दिलाउनुपर्ने उनको भनाइ छ। 

‘प्रदेशमा एकपछि अर्को गरि श्रृङखलाबद्ध रुपले भइरहेका घटनाका कारण आफुहरु पनि असुरक्षित भएको र एक्लै स्कुल जान समेत डराउनुपर्ने अवस्था आयो। हामी आफ्नो जिउ ज्यानको सुरक्षाबारे चिन्तित भएका छौ’, लक्ष्मी जोशीले भनिन्।

कञ्चनपुरको महाकाली बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत युवती आरती भण्डारीले पनि पछिल्लो घट्नाले मनोवैज्ञानिक असर पारेको बताइन्।

असुरक्षा महसुस गरिरहेको भन्दै उनले घटनामा संलग्नलाई समयमै कानुनी दायरामा ल्याएर पीडितलाई न्याय दिनुपर्ने माग गरिन्।

धनगढीको त्रिनगर माध्यमिक विद्यालयमा कानुन विषय अध्ययन गरिरहनुभएकी सुशिला धामीले पनि दण्डहिनता मौलाउँदा बालिका र किशोरीहरुमा मनोवैज्ञानिक असर परेको बताइन्।

समाजमा चेलीहरुलाई कसरी सुरक्षित राख्न सकिन्छ त ? भन्ने जिज्ञासामा अधिवक्ता रेणु प्रधान श्रेष्ठले व्यक्ति, समाज र राज्यले जिम्मेवार हुनुपर्ने बताउँछिन्। ‘दण्डहिनताको अन्त्य र कानुनको सशक्त प्रयोग गरि बलात्कार र हत्याका आरोपीहरुलाई कानुनी दायरामा ल्याउन सके समाजमा बालिकालगायत महिला सुरक्षित रहन सक्ने बाताबरण रहनसक्छ।’

२०७५ साउनमा कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या घटनाबाट भने संगठित रुपमा बलात्कारका बिरुद्ध आवाज उठ्न थालेको हो। निर्मला पन्त जस्तै बैतडीकी भागरथी भट्टको पनि गत माघ २२ गते बलात्कारपछि हत्या गरिएको भनिएपनि प्रहरीले अझै बलात्कारपछि हत्या गर्ने व्यक्तिको पहिचान गर्न सकेको छैन्। 

सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि पुससम्म जबरजस्ती करणीका एक सय ७२ मुद्दा दर्ता भएका छन्। प्रदेश प्ररही कार्यालयको तथ्यांक अनुसार मुद्दामा संलग्न एक सय ७२ जना पक्राउ परेका छन् भने ३१ जना फरार रहेका छन्। 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस