भागरथीका हत्यारालाई कारबाहीको माग गर्दै डडेल्धुरामा प्रदर्शन
बिमल बोहरा, डडेल्धुरा: बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै डडेल्धुरामा बिहीबार पनि प्रदर्शन भएका छन्।
डडेल्धुरास्थित क्याम्ब्रिज पव्लिक बोर्डिङ स्कुलका विद्यार्थीले भागरथीका हत्यारालाई सार्वजनिक गरी तत्काल कारवाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।
उक्त विद्यालयका कानुन संकायका विद्यार्थीले डडेल्धुराका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेमार्फत बिहीबार ज्ञापनपत्र बुझाएका हुन्।
ज्ञापनपत्र बुझाउनुअघि विद्यार्थीहरूले क्याम्ब्रिज पब्लिक बोर्डिङ स्कुलदेखि तुफानडाँडा हुँदै बसपार्क र बसपार्कदेखि चारपोल हुँदै जिल्ला प्रशासन कार्यालयसम्म बलात्कारीलाई सजाएको माग गर्दै नाराबाजी गरेका थिए।
यस्तै अमरगढी नगरपालिका–११ सल्लाघारीका स्थानीयले बिहीबार साँझ केआई सिंह राजमार्गमा नाराबाजी गरेका छन्। उनीहरुले ‘भागरथीलाई न्याय चाँहियो, हत्यारालाई कारबाही गर, किशोरीलाई बाँच्न देउ, महिला शुरक्षा कायम गर, मानव अधिकार सुनिश्चित गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन।
गत बुधबार विद्यालयबाट फर्किने क्रममा सम्पर्कविहिन भएकी भट्टको शव बिहीबार साँझ स्थानीय लवलेक सामुदायिक वनमा भेटिएको थियो।
उनको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टपश्चात पुस्टि भइसकेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।