बैतडीमा गोली प्रहार गरि छोरीको हत्या गर्ने बुवा ३ दिनदेखि फरार
धनगढीः बैतडीमा गोली प्रहार गरेर आफ्नै छोरीको हत्या गर्ने बुवा ३ दिनदेखि फरार छन्।
आफ्नै विवाहित छोरीलाई गोली प्रहार गरि हत्या गर्ने जिल्लाको पुर्चाैडी नगरपालिका–१० का धनसिह महरालाई प्रहरीले अझै नियन्त्रणमा लिन नसकेको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले उनको खोजी भइरहेको बताए। महराले शनिबार साँझ भरुवा बन्दुकको गोली प्रहार गरेर आफ्नी २० वर्षीया विवाहित छोरी बेलमती महराको हत्या गरेका थिए। महराले श्रीमतीसँग भएको विवादका क्रममा माइतीघरमा आएकी छोरीमाथि गोली चलाएका थिए। छोरीको हत्या गरेका महराले आफ्नै घरमा आगजनी समेत गरेका छन्।
महराका २ श्रीमती छन्। कान्छी श्रीमती सँग विवाद भएको थियो। आफ्नी आमाको पक्ष लिएपछि मृतक बेलमतीमाथि महराले गोली प्रहार गरेको प्रहरीले बताएको छ।