सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयद्वारा सेवासुविधामा ६ महिनामा २ करोड खर्च
धनगढीः सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा सेवासुविधामा मात्र २ करोड बढि बजेट खर्च गरेको छ।
कोरोना कहरकाबीच पनि कानूनअनुसार मिल्ने सेवासुविधा लिएका मुख्यमन्त्री र कर्मचारीहरुको समेत गरि त्यस वाफत २ करोड बढि रकम बुझेका छन।
मुख्यमन्त्री त्रिलोचन भट्टले मात्र विभिन्न शिर्षकमा ६ महिनाको अवधीमा करिब २८ लाख बुझेको तथ्यांक दिनेशखबरलाई दिइएको छ।
चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि हालसम्म मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सेवासुविधामा मात्र २ करोड २ लाख २६ हजार रुपैयाँ खर्च गरिएको पाइएको छ।
मुख्यमन्त्री कार्यालयसँग सूचनाको हक प्रयोग गर्दै निवेदन दर्ता गरेपछि उपलब्ध गराइएको विवरणअनुसार मुख्यमन्त्री र कर्मचारीको पारीश्रमिक, इन्धन सुविधा, भ्रमण भत्ता, सञ्चार सुविधा, बिजुली खानेपानी खर्च वाफत सो रकम बुझेका हुन्।
सबैभन्दा धेरै पारीश्रमिक शिर्षकमा १ करोड ९ लाख रुपैयाँ खर्च गरिएको छ। जसमा कर्मचारीको पारीश्रमीकमा ९५ लाख ६९ हजार रुपैयाँ र मुख्यमन्त्रीले १३ लाख ४१ हजार रुपैयाँ बुझेका छन्।
यस्तै, सवारी साधन मर्मत शिर्षकमा १० लाख ८४ हजार रुपैयाँ, इन्धन शिर्षकमा ७ लाख ५४ हजार रुपैयाँ खर्च गरेको छ।
चालु वर्षमा कार्यालय प्रयोजनका लागि इन्धन शिर्षकमा २२ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ।
भ्रमण शिर्षकमा १६ लाख विनियोजन गरिएकोमा ६ महिनामा ७ लाख ६४ हजार रुपैयाँ खर्च पाइएको छ।
भ्रमण शिर्षकको खर्चमा मुख्यमन्त्री त्रिलोचन भट्ट, कार्यालयका अन्य कर्मचारीको समेत कुल रकम जोडिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ।
तर मुख्यमन्त्री र कर्मचारीले के कति रकम बुझे भन्ने विवरण खुल्ने छुट्टाछुट्टै सूचना दिन भने आनाकानी गरिएको छ। कार्यालयले त्यो तथ्यांक नै नराखिएको दाबी गरिरहेको छ।
यस्तै महंगी भत्ता शिर्षकमा कुल १२ लाख ७२ हजार रुपैयाँ विनियोजन गरेकोमा ३ लाख ६० हजार रुपैयाँ खर्च गरिएको छ।
कर्मचारी बैठक भत्ताका लागि विनियोजन गरेको १५ लाख रुपैयाँ र अन्य भत्ता शिर्षकको २ लाख ३८ हजार रुपैयाँ भने खर्च गरिएको छैन।
पानी र बिजुली शिर्षकमा १५ लाख ९८ हजार रुपैयाँ विनिनयोजन गरिएकोमा ६ लाख ३० हजार रुपैयाँ, संचार महसुलमा ४ लाख २९ हजार रुपैयाँ, मेशिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चार खर्चमा पुन ३८ हजार रुपैयाँ खर्च गरिएको छ।
यस्तै विविध खर्च शिर्षकमा २४ लाख विनियोजन गरिएकोमा ७ लाख २३ हजार खर्च गरिएको देखिन्छ।
कार्यालयले घर भाडा शिर्षकमा समेत ३ लाख ४२ हजार खर्च गरेको छ। यसरी हेर्दा चालु वर्ष विनीयोजित २३ करोड ३४ लाख ८१ हजार मध्ये ६ महिनामा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले २ करोड २ लाख २६ हजार गरेको पाइएको हो।
सिङ्गो मुलुक कोरोना कहरसँग जुधिरहेका बेला प्रदेश सांसद र मन्त्रीहरुबीच सेवासुविधा फिर्ता गर्ने घोषणा गर्ने होडबाजी समेत चलेको थियो। तर उनीहरुले कोरोना कहरकै समयमा सेवासुविधा वापत लाखौँ बजेट बुझेका हुन्।
यद्यपी मुख्यमन्त्री त्रिलोचन भट्टले भने दशैँ भत्ता वापतको रकम कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि खडा गरिएको कोषमा जम्मा गरेका थिए।
तर प्रदेश सरकारका मन्त्री र सांसदले विगतदेखि नै सुविधाभोगी भएको आरोप खेप्दै आएका छन्।