कोरोना भाइरसविरुद्धको खोप पत्रकारलाई पनि उपलब्ध गराइने
काठमाडौं : सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पत्रकारलाई पनि उपलब्ध गराउने भएको छ।
माघ १४ गतेबाट शुरू भएको भएको खोप अभियानअन्तर्गत हिजोसम्म स्वास्थ्यकर्मीसहित कोरोना महामारी नियन्त्रण गर्न अग्रपङ्क्ति (फ्रन्टलाइन) मा खटिएका कर्मचारीलाई दिइएको थियो।
मन्त्रालयले पहिलो चरणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई खोप दिन थालेको ११ दिनपछि पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारीलाई खोप दिने निर्णय गरिसकेको छ।
खोप लगाउन चाहने पत्रकारले सोमबारदेखि शुक्रबारसम्म आफ्नो पत्रकार परिचयपत्र देखाएर लगाउन सक्ने जनाइएको छ।
मन्त्रालयका सह-प्रवक्ता डा. समिर अधिकारीले सोमबारदेखि कूटनीतिक नियोगका विदेशी कर्मचारी, उनीहरूका आफन्त र त्यहाँ कार्यरत नेपाली कर्मचारी र पत्रकारलाई दिने निर्णय गरिएको बताए।
मन्त्रालयका अनुसार पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीहरूले तोकिएको अस्पतालमा सोमबारदेखि शुक्रबारसम्म पुगेर खोप लिन सक्नेछन्।
उपत्यकामा सिभिल अस्पताल, पाटन अस्पताल र त्रिवि शिक्षण अस्पतालमा गएर पत्रकारहरूले खोप लगाउन सक्ने डा. अधिकारीले बताए।
मन्त्रालयले पत्रकारहरूका लागि सूचना विभागको प्रेस पास देखाउनुपर्ने बताएको छ। तर, विभागको प्रेस पास नलिएका पत्रकारहरूले सम्बन्धित मीडिया हाउसको प्रेसपास देखाएर खोप लगाउन सक्नेछन्। सम्बन्धित संस्थाले खोप शाखामा गएर आफ्नो मीडिया हाउसका पत्रकारहरूको विवरण भने पेश गर्नुपर्ने डा. अधिकारीले बताए।