सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको दुर्गम जगन्नाथमा चिकित्सकद्वारा नियमित स्वास्थ्य सेवा

२०७७ माघ २२, ०५:३४ प्रकाश सिंह

बाजुरा: बाजुराको दुुर्गम जगन्नाथ गाउँपालिकामा चिकित्सकद्वारा नियमित स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको छ।

डा. जस्मीता बलमपाकीलाई भर्ना गरेर पहिलोपटक स्वास्थ्य सेवा सुरु गरेको गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाहीले बताए।

गाउँपालिकाले जुड्डिमा ५ बेडको अस्पताल सञ्चालनमा ल्याएर चिकित्सकमार्फत स्वास्थ्य सेवा दिएको हो। साथै उक्त अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गरिएको गाँउपालिकाले जनाएको छ।

अस्पतालको बिहिवार गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले रिबन काटेर उद्घाटन गरेका थिए। उद्घाटनपछि बिरामीको चेकजाँच सुरु गरिएको थियो।

अस्थायी कोभिड अस्पताल भएपनि उक्त अस्पतालबाट नियमित स्वास्थ्य सेवा दिइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद गैरेले बताए।

गाउँपालिकामा अस्पताल सञ्चालन आएपछि स्थानीयवासी हर्षित भएका छन्। गाउँपालिका–३ का ५७ वर्षीय कटकबहादुर शाहीले गाउँमै पहिलो पटक चिकित्सकद्वारा उपचार पाएको बताएका छन्। ‘प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी सदरमुकाम जान पैसा थिएन्। रोग पालेर बसेको थिए। गाँउमै चिकित्सक आएपछि उपचार भयो’ उनले भने।

बिहिबारबाट बिरामी चेकजाँच, परामर्शसेवा र औषधि वितरण सुरु गरिएको छ। अस्पतालले नियमित ओपिडी, ड्रेसिङ्ग, सुचरिङ्ग, आइ एण्डडी, कोरोनाको चेकजाँच र बिरामी बेडभर्ना गर्नेगरि सेवा सञ्चालनमा ल्याएको छ। साथै गाउँपालिकाले अस्पतालमा ल्याब सेवापनि सञ्चालन गरेको गाउँपालिका रोजगार संयोजक लक्ष्मण जोशीले बताए। 

अस्पताल सञ्चालनका लागि गाउँपालिकाले कर्मचारी भर्ना कार्यविधि २०७७ अनुसार एक जना एमबिबिएस डाक्टर, २ जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी भर्ना गरे सेवा सुचारु गरेको हो। त्यस्तै आवश्यकताअनुसार थप स्वास्थ्यकर्मी भर्ना गर्ने गाउँपालिकाले जनाएको छ।

उक्त अस्पतालबाट जगन्नाथ गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका र छिमेकी जिल्ला कालीकोटका जनताले स्वास्थ्य सेवा सहज रुपले प्राप्त गर्ने भएका छन्।

नेपाल सरकारले जगन्नाथ गाउँपालिकामा १० शैंयाको अस्पताल स्वीकृत गरिसकेको र भवन निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकेको गाउँपालिकाले जनाएको छ। 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस