राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजना तोकिएको समयमा नबन्ने
धनगढीः कैलालीमा निर्माधिन राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजना निर्माणका लागि वि.स २०६६ सालमा कार्यालय स्थापना गरिएको थियो। २०६७ मा आर्थिक वर्ष २०८०/२०८१ भित्र पहिलो चरणको सिँचाइका संरचना निर्माणको काम पूर्ण गर्ने लक्ष्य राखिएको छ। तर आयोजना निर्माणको १४ वर्ष पुरा हुँदापनि भौतिक प्रगति ४९ प्रतिशत मात्रै रहेको छ।
रानी जमरा कुलरिया सिँचाइ आयोजनाका सूचना अधिकारी प्रेम लासिवाले निर्माणको कार्य जारी रहे पनि निर्धारित समयमा पुरा हुन नसक्ने बताए।
आयोजनाले जिल्लाको लम्की क्षेत्रमा ६ हजार हेक्टर, पथरैया–कान्द्रामा १८ हजार हेक्टर, रानी जमरा र कुलरिया क्षेत्रमा १४ हजार ३ सय हेक्टर क्षेत्रमा सिँचाइको विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ। एक दशमलव ५७ हेगावाट क्षमताको विद्युत उत्पादन तथा उत्पादनका लागि पावर हाउस निर्माण, लाइन बिस्तारलगायतको समेत डीपीआर तयार पारिएको छ।
पहिलो चरणको काम पुरा नहुँदै पुनः दोस्रो चरणको काम सुरु समेत गरिएको आयोजना कार्यालयले बताएको छ। परामर्शदातादेखि २६ वटा निर्माण कम्पनीले आयोजना निर्माणको काम गर्दै छन्। १४ वर्षमा ४९ प्रतिशत मात्र भौतिक प्रगति भएकाले आयोजना आर्थिक वर्ष २०९०/०९१ सम्म लम्बिने देखिएको छ। पुनः आयोजना कार्यालय टीकापुरका सूचना अधिकारी लासिवाले २०८०/०८१ मा निर्माण सम्पन्न गर्ने योजना भएपनि सिँचाइ आयोजनामा १८ हजार हे्क्टर सिँचाइ क्षेत्र थपिएकोले लम्बिन सक्ने जानकारी दिए।
आयोजनाको पहिलो चरण अन्तर्गत विश्व वैंकले साढे ४ अर्ब र नेपाल सरकारको लगानीमा आयोजनाका कामहरु गरिएका छन्। ३८ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने लक्ष्यका साथ निर्माण सुरु गरिएको आयोजनाको पहिलो चरण अन्तरगतका कर्णाली नदीमा इन्टेक निर्माण तथा अन्य संरचना निर्माण र तल्लो क्षेत्रमा कल्भर्ट, पुल निर्माण तथा नदी नियन्त्रणका कार्यहरू सम्पन्न भइसकेका छन्।
विश्व बैङ्कको १० वर्ष निब्र्याजी ऋण ३ अर्ब ७० करोड रुपियाँ, सरकारको ५० करोड रुपैयाँ र स्थानीयबाट १० करोड रुपैयाँ बराबरको साझेदारीमा पहिलो चरणको कार्य सम्पन्न भएको हो।