सुदूर नेपाललाई विश्वसँग जोड्दै

विशाल मन भएका ‘विशाल’: ठेलागाडामा तरकारी बेच्छन्, भन्छन्–“अभावले सानो उमेरमै मेहनत गर्न सिकायो”

२०७७ माघ २०, ०७:३४ रक्षा भट्ट

धनगढीः कैलालीका एक २३ वर्षीय युवक, जो अत्तरिया बजारमा दिनहुँ ठेलागाडामा तरकारी लिएर निस्कन्छन्। विशाल मगर नाम गरेका ती युवक हँसिलो मुद्रामा तरकारी किन्न आउने ग्राहकको स्वागत गर्दै मीठो कुराकानीका साथ तरकारी बेचिरहेका हुन्छन्।

उनी निकै खुशी र उमङ्गका साथ केही धक नमानी मज्जाले आफ्नो सानो व्यापारमा रमाइरहेका देखिन्छन् । उनलाई तरकारी बेच्दै गरेको देख्दा लाग्छ जस्तो कि उनी त्यही काम गर्नका लागि लामो समयदेखि नै प्रतीक्षा गरिरहेका थिए होलान्। 

कैलालीको गोदावरी नगरपालिका ७ लालपुर मगर टोल घर भएका उनी आर्थिक अवस्था कमजोर भएकै कारण कक्षा १० पछि पढ्न नपाएको तीतो अनुभव सुनाउँछन्। विशालका बुवा घर बनाउने मिस्त्रीको काम गर्छन्। 

विशाल भन्छन् –“बुवाको कमाइले मात्र नहुने, घरको जेठो छोरो परियो, सानो भाइ पनि थियो अनि पढाइ भन्दा नी घरको अवस्थाले जिम्मेवारी वोध गरायो । अनि पढाइ छोडी विदेशतिर लागियो।” 

१७ वर्षकै कलिलो उमेरमा नागरिकतामा उमेर बढाएर मलेशिया गएको उनी बताउँछन्।

भन्छन् –“घरबाट पनि विदेशतिरै गएर भए नी पैसा कमाउनुपर्यो भन्ने कुरा हुनथाल्यो, मलाई नि आफू पढ्न भन्दा पनि भाइलाई पढाउन् र घरको समस्या टार्न विदेश जानुपर्छ भन्ने लागिसकेको थियो । १७ वर्षकै उमेरमा पैसा कमाउनकै लागि विदेश गइयो, त्यो नी नागरिकतामा उमेर बढाएर।” 

मलेशियामा तीन वर्ष काम गरेर फर्केका उनी त्यहाँ आफूले निकै दुःख पाएको बताउँछन्। “विदेश भन्न मात्र सजिलो हो, अर्काको देशमा काम गर्न निकै गाह्रो हुने, काम सानो ठूलो हुँदैन, जे गरे नी आफ्नै देशमा गरेको जाति।”

आफूले यसरी तरकारी बेच्न थालेको तीन महिना मात्र भएको बताउँदै उनी भन्छन् –“ठूलो व्यापार व्यवसाय केही गर्न सकिएन, सब्जिमण्डी र किसानहरुबाट किनेर ल्याएर ठेलागाडामा बेच्छुँ, कहिले राम्रै आम्दानी हुन्छ, कहिले खासै हुँदैन, तै पनि घरखर्च त चलिरहेकै छ।” 

आफूले १५ वर्षकै उमेरबाट ज्याला मजदुरी गर्नुपरेको सुनाउँदै उनी भन्छन् –“पढ्ने रहर भएर के गर्नु, ज्याला मजदुरी नगरी नहुने भयो । जे होस् आर्थिक अभावले सानो उमेरमै मेहनत गर्न चाहिँ सिकायो ।” पढ्ने रहर हुँदाहुँदै पनि पढ्न नसकेको हुँदा भाइ र श्रीमतीलाई भने पढाइरहेको बताउँछन्। विदेशबाट फर्किएर बिहे गरेको बताउने उनी श्रीमती देवीका र भाइ पवन क्रमशः १२ र ८ कक्षामा पढिरहेका बताउँछन्। उनको १० महिनाको सानो छोरा पनि छ। 

उनी व्यापारलाई शून्यबाट सुरु गरिरहेको छुँ भन्छन्। यस क्रममा तरकारी किन्न आउने ग्राहकले मूल्य बढी नै घटाउन खोज्ने गरेको अनुभव उनी सुनाउँछन् । आफूले कसरी तरकारी अलि बढी बेच्न सकिएला त भन्नेबारे थोरै भएपनि काठमाडौँ बस्दा त्यहाँ काम गर्दा सिकेको बताउँदै आफूले बेच्ने तरिकाबारे भन्छन् –“तरकारीको मूल्य सधैँ एकनासको त हुँदैन। जस्तो ४० रुपैयाँ किलो आलु छ भने मैले १०० रुपैयाँमा साढे दुई किलो दिन्छु । त्यस्तै केही दिनअघि फूलगोभीको मूल्य सस्तिदा १०० रुपैयाँको ८ किलो बेचेँ, अहिले १०० को ३ किलो बेचिराछु ।” यसरी बेच्दा आफ्नो तरकारी बेशी कटाउन सकिने उनको बुझाइ छ। 
 

रक्षा भट्ट दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछिन्।

कमेन्ट लोड गर्नुस