बझाङमा जलचर प्राणीहरु नासिँदै
प्रताप ओली, बझाङ : बझाङमा जलचर प्राणीहरु नासिँदै गएपछि सरकारले चाँसो देखाएको छ ।
जल तथा उर्जा आयोग सचिवालयका सचिव सागर कुमार राईले जलचर प्राणीको संरक्षणका लागि बझाङका स्थानीय तहसँग छलफल गरेका हुन् । केही दिनअघि दुई दिनसम्म भएको छलफलमा पानीमा रहने प्राणीहरुमध्ये विशेषगरी माछाको अस्तित्व संकटमा पुगेकोले नदीखोलामा पाइने माछा संरक्षणमा जोड दिएका हुन् ।
सदरमूकाम चैनपुर, तमैल, भाँडे, मौरीबगर, झनना, झोता, देउरा, बाग्थला लगायतका बजारमा फोहोर व्यवस्थापन गर्ने डम्पिङ साइड नहुँदा सिधै सेती नदी तथा सहायक खोला फोहोर विर्सजन गर्ने गरिएको छ । फोहोरसँगै रसायजन्य पदार्थ, सिसा, प्लाष्टिक लगायतका नसड्ने तथा जलचर प्राणीलाई हानी पुर्याउने चिजवस्तुहरु फ्याँकिदा झन् प्राणीको अस्तित्व नासिन पुगेकोले यसतर्फ नदि खोला नजिकका समुदायलाई सचेत गराउने बताइएको छ ।
लकडाउन र त्यसपछि कोभिडको निरन्तर प्रभावसँगै माछा मार्नेहरूको संख्यामा पहिलेको तुलनामा अत्याधिक वृद्धि भएपछि यसको नियन्त्रणमा लाग्ने प्रतिवद्धता जनाएका हुन् । यूएसएड पानी कार्यक्रमको सहयोगमा यसअघि धौलाबगरदेखि तमैलसम्म सेती नदी र कचाली खोलामा लगायत खोलामा माछा मार्न बन्देज लगाउने गरि केही समूह गठन भएपनि कार्यान्वायनमा आएका छैनन् ।
सेती नदीमा पाइने असला माछा स्वादका हिसाबले देशैभर प्रख्यात भएपनि पछिल्लो समय यसको संख्या निकै घटेको मछवारहरूले बताउने गरेका छन् । यसबाहेक सेती र यसका सहायक नदीहरूमा १३ प्रकारका माछा पाइने यूएसएड पानी परियोजनाको अध्ययनले देखाएको थियो ।
अव्यवस्थित तरिकाले भैरहेका विकास निर्माण र मानवीय गतिविधिका कारण सेतीका माछालाई खतरा उत्पन्न भइरहेको बेला सुवेडाका स्थानीयले थालेको यो प्रयासको स्थानीयस्तरमा प्रसंशा हुन थालेको छ । सानो आँखा भएका जालको प्रयोग, करेन्ट लगाउने, विष्फोटक पदार्थको प्रयोग गर्ने गरेका कारण साना माछाहरू पनि मर्ने भएकोले माछाको संख्या घट्दै गएको अवस्था छ ।
यस्तै खिरोगडेरो लगायतका जैविक विषादी हालेर माछा मार्ने, घनको प्रयोग गर्ने, खोला नै अर्काे तिर फर्काउने गरेर दुवाली थुन्ने गरेको कारण जलचरहरूको अवस्था दिन प्रतिदिन बिग्रँदै गएकोले विनासकारी तरिकाले माछा मार्न रोक्नतर्फ पनि समुदायको ध्यान जानुपर्ने छलफलमा बताइएको छ ।