धनगढीमै ‘फायर पान’सहित थरीथरीका बनारसी पान भेराइटिज
धनगढीः पान भनेपछि पान पारखीहरुको मुख नरसाउने कुरै भएन।
पानको स्वाद नलिएका तर भारतीय मसहुर गायक किशोर कुमारले गाएको ‘खाइके पान बनारसी वाला...’ भन्ने गीत सुनेकाहरु वा सामाजिक सञ्जालमा आगोको लप्कासहित मुखैभरि क्वाप्प पान चपाएको दृष्यले लालयित भएकाहरु हाल धनगढीको एक पान पसलमा झुम्मिन थालेका छन्।
माघ १७ गते मात्रै उद्घाटन भएको सो पान पसलमा पान पारखीहरु झुम्मिन थालेका हुन्। धनगढीस्थित ओम टे«ड सेन्टर अगाडि सानो खोकामा धनगढीकै युवा गौरव अग्रवाल र प्रदिप सिंहलले बच्चादेखि बृद्धसम्मलाई लक्षित गरि ‘मस्ट बनारसी पान’ को फ्रेन्चाइजी व्यवसाय सञ्चालनमा ल्याएका हुन्।
लामो समयदेखि धनगढीमा अटोमोबाइल्स्को व्यवसाय गर्दै आएका अग्रवालले भने, ‘धनगढीमा केही नयाँ गर्नुपर्छ भन्ने उदेश्यले हामीले भारतको दिल्लीबाट फ्रेन्चाइजी लिएर व्यापार सुरुवात गरेका हौ।’
फ्रेन्चाइजी व्यवसाय कुनै कम्पनी वा उत्पादकको ब्राण्ड वा लोगो लिएर गरिने व्यवसाय हो।
उनीहरुले १६ लाखको लगानीमा व्यवसाय सुरु गरेका हुन्। १५० किसिमका पानको विभिन्न भेराइटी तथा परिकार दिन सक्ने भएपनि हाल उनीहरुले धनगढीमा ५९ थरी परिकार बिक्री वितरण भइरहेको बताएका छन्। प्रत्येक महिना क्रमिक रुपमा १०÷१० वटा थप गर्दै जाने योजना रहेको बताइएको छ।
उनले थपे, ‘धनगढीमा अझै पान खानुपर्छ भन्ने संस्कृति छैन। त्यही भएर सुरुमा पानको बारे बुझाउने, परिकारबारे ग्राहकलाई भ्रम नहोस् भनेर क्रमिक रुपमा विस्तार गर्ने योजना हो।’
उनीहरुको पान पसलमा प्रति गोटा पानको मूल्य ६५ रुपैयाँदेखि ३ हजार ४०५ रुपैयाँसम्मको मूल्यसूची छ। तर हाल प्रति गोटा ३० देखि १५० रुपैयाँको पानको परिकार पाइन्छ।
उनको पान पसलमा नवयुवाहरु ‘फायर पान’ अर्थात बलिरहेको पानको स्वाद जाने गरेका छन्।
फायर पानको जीवनमा पहिलो पटक मज्जा लिएको बताउँदै धनगढी मिलन चौकका एगन ओझाले भने, ‘फायर पानले मुखै जल्ने हो कि भन्ने डर थियो। तर मज्जा आयो।’
पसल सञ्चालकले पहिलो दिनमा मात्रै १ हजार ८० गोटा र दोस्रो दिन ८ सय थान पान बिक्री गरेका छन्।