विदेशी पर्यटक आवागमनलाई सहज बनाइँदै
कोभिड–१९ महामारीबाट अर्थतन्त्रका अन्य क्षेत्रजस्तै सबै भन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले रणनीतिक महत्वका अल्पकालीन र दीर्घकालीन योजनासहितका कार्यक्रम अघि बढाउने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले महामारीका कारण प्रभावित बनेको पर्यटन क्षेत्रको पुनरुत्थानसाथै उत्साहवद्र्धक गतिविधि सञ्चालनका लागि सरोकारवालासँगको समन्वयमा प्रवावकारी योजना कार्यक्रम ल्याइने बताए ।
महामारीबाट थलिएको पर्यटन प्रवद्र्धनका कार्यक्रम कसरी अघि बढाउने आदि विषयमा मन्त्रालयमा आज पर्यटन विटका पत्रकारसँगको छलफल र सुझाव लिँदै पर्यटनमन्त्री ढकालले पर्यटन क्षेत्रको विभिन्न स्थानलाई तत्कालीन र नीतिगत रुपमा सम्बोधन गर्नुपर्ने कार्यलाई यथाशीघ्र अघि बढाइने बताए ।
पर्यटनमन्त्री ढकालले पर्यटन क्षेत्रको प्रभावकारी प्रवद्र्धन तथा यसका गतिविधिलाई अघि बढाउन मन्त्रालयले पञ्जवर्षीय योजना तथा आवधिक रुपमा सरकारको नीति तथा कार्यक्रममा परेका विषयलाई सम्बोधन गरिनुका साथै १० वर्षे योजनामासमेत पर्यटनका विषयलाई समेटिने बताए ।
उनले गुणात्मक पर्यटक भित्र्याउन, दिगो वन रणनीतिका कार्यक्रम अघि बढाउन मन्त्रालय लागि परेको बताए । “म ठूलो महत्वकांक्षी आयोजना ल्याउने पक्षमा छैन, जति गर्न सकिन्छ राम्रो गरेर जाने हो, मन्त्री बद्लिए पनि नीतिमा निरन्तरता छ, यसअघिका मन्त्री पनि मेरा सहकर्मी भएकाले कतिपय रणनीतिक महत्वका काम समन्वयकासाथ निरन्तरता दिने पक्षमा छु”, मन्त्री ढकालले भने ।