सुदूर नेपाललाई विश्वसँग जोड्दै

भूमि सुधार तथा मालपोत कार्यालय धनगढीको सेवा लिन ४ दिन

२०७७ माघ १६, ०७:१८ नारायण अवस्थी

धनगढीः भारतको नयाँ दिल्लीबाट जग्गा नामसारी गर्न धनगढी पुगेका सन्तोष पौड्याललाई भूमि सुधार तथा मालपोत कार्यालयमा धाएको ३ दिन भयो। तर काममा हुने गरेको ढिलासुस्ती र निकै खर्चिलो धनगढी बसाइले उनी हैरान भए।

पौड्यालले भने, ‘मालपोत कार्यालयको कुनै एक फाँटमा पुगेको फाइल समेत सो फाँटमा गर्नुपर्ने काम गर्दा घण्टौ पर्खनुपर्ने कारणले टाढाबाट आउने सेवाग्राहीले मालपोतबाट आफ्नो काम सम्पन्न गराउँदासम्म ४÷५ दिनको समय र होटलवासमै हजारौँ रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता जस्ताको त्यस्तै छ।’ 

हालको घर बर्दिया भएको तर कैलालीमा रहेको जमिन बिक्री गर्न आएका पौड्यालले कर्मचारीको काम गर्ने शैलीले निकै सास्ती खेपेको गुनासो गरे। कैलालीको पहाडी गाउँपालिका चुरेबाट जग्गा नामसारी गर्न आएका हर्कबहादुर राना मगर हातमा फाइल बोकेर लाइनमा उभिएका थिए।

‘आफू दुई दिनदेखि मालपोत कार्यालयमा जग्गा नामसारी गर्न लाइनमा लागिरहेको तर लाइनमा लागेपनि काम भने निकै सुस्त गरि हुने गरेकोले आज(विहिबार) पनि काम नसकिने पो हो कि ? भन्ने चिन्ता छ’ दुखेसो सुनाउँदै हर्कबहादुर राना मगरले दिनेशखबरलाई भने।

पौड्याल र रानामगर मात्रै होइन्, सो कार्यालयमा दैनिक संयौं सेवाग्राहीको भीड हुन्छ। सो कार्यालयको सेवा लिन समय र पैसा धेरै खर्च हुन थालेपछि सेवाग्राहीहरु निकै सास्ती हुने गरेको बताएका छन्। कार्यालयको सेवा अझै सुधार नभएको उनीहरुको गुनासो छ।

मालपोत कार्यालयले बार अनुसार तालिका बनाएर फरक बारमा फरक–फरक स्थानीय तहका सेवाग्रहीलाई सेवा दिने गरेको जनाएको छ। मालपोत कार्यालय धनगढीका प्रमुख मालपोत अधिकृत सुरेन्द्र केसीले भने, ‘बार अनुसार तोकिएका स्थानीय तहका सेवाग्रहीलाई कार्यालयका कर्मचारीको उचित व्यवस्थान गरेर एकिकृत तरिकाले सेवा दिन आफूहरु लागि परेको र रचनात्मक सुझाव अंगिकार गरेर कार्यालयको सेवा अझै थप व्यवस्थित गर्न तयार रहेका छौँ।’

प्रमुख केसीले मालपोत कार्यालय धनगढीमा सेवाग्रहीको घुँइचो नहोस् भनेर आफूहरु छिटो छरितो सेवा दिन प्रतिबद्ध रहेको दाबी गरे। सेवाग्राहीले एकातिर दैनिक पैसा खर्च गरेर दिनहँु कार्यालय धाउनुपर्ने बाध्यता छ भने अर्कोतिर कोरोनाको समेत जोखिम मोलेर घुँइचोमा दिनभर उभिनुपर्ने बाध्यता रहेको गुनासो गरेका छन्। 
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस