धनगढी आउँदै गरेकी कालीको साथबाट अवैध १७ लाख बरामद, घरमा भेटियो १ किलो सुन
धनगढी: डोटीबाट धनगढी आउँदै गरेकी एक महिलाका साथबाट स्रोत नखुलेको १७ लाख बढी नगद फेला परेको छ।
जिल्लाको केआईसिंह गाउँपालिका–६ भिताडीकी बृृद्ध महिला काली भुलको साथबाट १७ लाख ४७ हजार नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक कान्तीराज जोशीले बताए।
उनका अनुसार दिपायलबाट धनगढी आउँदै गरेको अवस्थामा उनको साथबाट सो रकम बरामद गरिएको हो। सोही विषयमा सोधपुछका क्रममा कालीको घरमा छापा मार्दा १ किलो भन्दा बढी तौल भएको सुन समेत फेला परेको प्रहरी निरीक्षक जोशीले बताए।
प्रारम्भिक अनुसन्धानका क्रममा रकम र सुनको स्रोतबारे बुझ्न खोज्दा आफन्तले आफुलाई राख्न दिएको भन्दै काली भुलले प्रहरी समक्ष बयान दिएकी छिन्।
घटनाका विषयमा अनुसन्धानपछि विस्तृत जानकारी खुल्ने प्रहरीले जनाएको छ।