सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका कृषक प्रदेशुको कमालः तरकारीको आम्दानी शिक्षामा लगानी

२०७७ माघ १३, ०४:३७ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढी उपमहानगरपलिका वडा नम्बर ५ गौरीशंकर टोलका कृषक प्रदेशु चौधरी (५१)ले व्यावसायिक तरकारी खेती अँगालेको २० वर्ष भयो। 

हाल उनको जीवनमा जे छ, तरकारीकै देन हो। मानवीय आश्यकता असीमित भएपनि उनको जीवनमा तरकारी खेती निकै फापेको हो।

डेढ विघा जमिनमा तरकारी खेती गर्दै आएका प्रदेशुले चाहिने कम्पोष्ट मल आफै उत्पादन गर्छन् र अग्र्यानिक उत्पादनलाई जोड दिन्छन्।

उनले भने, “अग्र्यानिक तरकारी उत्पादनमा मिहेनत धेरै लाग्छ। आजभोलि सबैले रुचाउने पनि अग्र्यानिक नै हो। परिवार सँग बसेर काम गर्न पाएको छु। छोराछोरीलाई राम्रो उच्च शिक्षा दिन पाएको छु। आधा दर्जनलाई रोजगारी दिन पाएको छु। समग्रमा तरकारी खेतीबाट सन्तुष्ट छु।” 

हरियाली कृषक तरकारी खेती फर्म दर्ता गरेर उनले सबै किसिमका मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै आएका हुन्। उनको बारीमा हालको हिउँदे सिजनमा काउली, ब्रो काउली, गोलभेँडालगायत हरियो तरकारीको राम्रो उत्पादन भएको छ। बिक्रीको लागि तयारी अवस्थामा छ। यतिमात्रै होइन, ५ वटा टनेलमा काक्रो तयार हुँदै गरेको तरकारी बारीमा केरा खेती समेत विस्तार गरेका छन्। मौसम अनुसारको विभिन्न तरकारीका बेर्ना समेत उत्पादन गर्दै आएको प्रदेशु बताउँछन्।

शिक्षामा लगानी
तरकारी खेतीमा निकै सक्रिय प्रदेशु तरकारी खेतीबाट वार्षिक ८ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। जुन आम्दानीलाई सही क्षेत्रमा लगानी गर्ने तर्फ उनी निकै सचेत छन्। उनको आम्दानीको पहिलो प्राथमिकता छोराछोरीको पढाइ हो।

प्रदेशुले भने, “एक छोरीको स्नातकोत्तर पढाइपछि विवाह भइसकेको छ। ३ छोरी स्नातक तहमा अध्ययनरत छन्। कान्छो छोरा बिएस्सी एजी पढिरहेको छ। जेठा छोरा म सँगै कृषिमा नै सघाउने गरेको छ।”

तरकारीबाट आएको आम्दानी शिक्षामा लगानी गर्ने मात्रै होइन, कैलालीको हसुलियामा एक बिघा जग्गा समेत जोड्न सफल भएका छन्।

यसरी उनी आफ्नो परिवारका सदस्यलाई व्यवस्थापन बाहेक १ जनालाई मासिक तलबमा र ६ जनालाई ज्यालादारीमा रोजगारी दिइरहेको कृषक प्रदेशु बताउँछन्।

तर खेतीमा गरेको परिश्रम र लगानी अनुसार प्रतिफल पाउँन नसक्दा दुःख लाग्ने गरेको उनी बताउँछन्। 

उनले भने, “किसानले मिहेनत अनुसारको मूल्य र सहज बजारको व्यवस्था भए मनग्य आम्दानी गरेर आत्मनिर्भर हुन सकिन्छ। तर त्यसका लागि सरकारी प्रयास भने हुनुपर्छ।’ 
 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस