कैलालीको टीकापुरमा भैंसी आनुवांशिक फार्म बन्ने, सुदूरपश्चिम सरकार र सुदूरपश्चिम विश्वविद्यालयबीच सम्झौता
धनगढीः कैलाली जिल्लाको टीकापुरमा प्रदेश सरकारको लगानी ठूलो लगानीमा भैंसीको आनुवांशिक फार्म स्थापना सँगै कृषिका विभिन्न कार्यक्रम सञ्चालन हुने भएको छ।
सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीच भएको दुई पक्षीय सम्झौता अनुसार सो कार्यक्रम सञ्चालन हुने भएको हो।
आइतबार मन्त्रालयका सचिव डा. किसनलाल भट्ट र विश्वविद्यालयका रजिष्टार डा. गोविन्द सिंह बिष्टले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा. हेमराज अवस्थीका अनुसार सम्झौतापछि भैंसी खरिददेखि लिएर भैंसीको आनुवांशिक फार्म स्थापनासम्मका सबै पूर्वाधार निर्माण तथा व्यवस्थापनको जिम्मेवारी प्रथम पक्ष अर्थात प्रदेश सरकारको हुने भएको छ।
जसभित्र गोठ, घर, बाटो, दुग्ध चिस्यान केन्द्र, विजुली, खानेपानी, दुध संकलन एंव प्रशोधन कक्षलगायत पूर्वाधार निर्माण हुने डा. अवस्थी बताउँछन्।
एग्रोमेट स्टेशन अर्थात हावापानी मापन केन्द्र स्थापनाको लागि यन्त्र उपकरण खरिद गरि जडान समेत गरिने भएको छ। सामुदायिक कृषि तथा पशुसेवा केन्द्र स्थापना सँगै समग्र कृषि विकासका लागि माटो परीक्षण प्रयोगशाला, बाली संरक्षण तथा आधारभूत भेटेनरी प्रयोगशाला स्थापना गरिने सम्झौतापत्रमा उल्लेख छ।
यो सँगै प्रदेश सरकारले कृषि विषय अध्ययनपछि विद्यार्थीहरुको आयआर्जन सम्बन्धी कार्यक्रम सञ्चालनको लागि समेत लगानी गर्ने सम्झौतापत्रमा उल्लेख छ। वार्षिक रुपमा टीकापुर कृषि क्याम्पसमा कृषि मेला र प्रर्दशनी कार्यक्रम समेत संचालन गरिने बताइएको छ।
सम्झौता अनुसार जग्गा उपलब्ध गराउनेदेखि अध्ययन अनुसन्धान, भौतिक संरचना निर्माणको लागि आवश्यक लागत इस्टिमेट, डिजाइन, नक्सांकनलगायत प्राविधि सहयोगको जिम्मेवारी दोस्रो पक्ष अर्थात आफुहरुको हुने विश्वविद्यालयका कृषि विकास संकाय डीन डा. लालप्रसाद अंगाईले दिनेशखबरलाई बताए।
विश्वविद्यालयका डीन डा.अंगाईले सो ५ वर्षे सम्झौता अनुसार काम पुरा भए नेपालभरका विद्यार्थी बि एसस्सी, एजी पढ्न आउने वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे। साथै सो कार्यक्रमले दीर्घकालीन कृषि विकास हुने र विश्वविद्यालयको एम.एस्सी.एजी तथा पी.एच.डी. अध्ययन केन्द्रसम्म हुने र अन्ततः एउटै बास्केटमा मोडेल फार्म विकास गर्ने रणनीति लिइएको उनको भनाइ छ।