बाजुराको हिमालीमा ल्याब सेवा सुरु, त्रिवेणीमा गाउँघर चिकित्सक शिविर सञ्चालन
बाजुरा : बाजुराको हिमाली गाउँपालिकामा ल्याब सेवा सुरु गरिएको छ।
जिल्लाको दुर्गम गाउँपालिकाको रुपमा रहेको हिमालीमा स्वास्थ्य परीक्षणको लागि आवश्यक पर्ने मेसिनरी औजार उपकरण सहितको ल्याब सञ्चालनमा ल्याइएको हो।
ल्याबमा क्षयरोगको जाँच, मलेरिया जाँच, कालाजार, यौन तथा सरुवा रोगहरु, रगत, दिशापिसाब लगायत १ सय भन्दा बढी जाँचहरु गरिने गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक अधिकृत राजबहादुर भण्डारीले बताए।
ल्याब सुरु भएसँगै सामान्य गर्भवती जाँच गर्न कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताइएको छ।
यस्तै त्रिवेणी नगरपालिकामा दुई दिने गाउँघर चिकित्सक शिविर कार्यक्रम सुरु भएको छ। शुक्रबारबाट त्रिवेणी नगरपालिका वडा नम्वर ४ टुडेगडामा उक्त शिविर सुरु भएको हो।
शिविर सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालय र जिल्ला अस्पताल बाजुराको आयोजनामा सञ्चालन भएको हो।
त्रिवेणी नगरपालिकाको सहयोग र समन्वयमा नगरपालिकाभित्र रहेका फरक क्षमता भएका र अन्य व्यक्तिलाई शिविरबाट सेवा दिइएको बताइएको छ। सामान्य रुपमा आर्थिक अभावले उपचार गर्न नसक्ने व्यक्तिहरुलाई मध्यनजर गरि शिविर सञ्चालन गरिएको नगरप्रमुख रामसिंह रावलले बताए।
शुक्रबार पहिलो दिन १ सय २० जनाले सामान्य उपचार र फरक क्षमता भएका ८० जनाले सेवा लिएको प्रमुख प्रशाकिय अधिकृत चिरन्जिवी प्रसाद शाहले बताए।