सुदूरपश्चिममा गम्भीर संक्रमित घटेपछि धनगढीको कोभिड अस्पताल खाली
धनगढीः सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका गम्भीर संक्रमितको संख्या कम भएका छन्। कुनै बेला गम्भीर संक्रमितको चापले शैया अभावको समस्या खेपेको सेती प्रादेशिक अस्पताल मातहतको कोभिड अस्थायी अस्पताल अहिले करिब खाली भएको छ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठकाअनुसार कोभिड अस्थायी अस्पतालमा अहिले धनगढीका १ जना संक्रमितको मात्रै उपचार भइरहेको छ।
धनगढी उप–महानगरपालिका वडा नम्बर १२ का ती संक्रमितको अवस्था खतरामुक्त रहेकाले सम्भवत: उनी पनि कोरोना जितेर चाडै घर फर्किने सूचना अधिकारी श्रेष्ठ बताउँछन्।
अस्पतालमा उपचाररत संक्रमितको संख्या कम भएपनि कोरोना भाइरसको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गर्न चिकित्सकहरुले सुझाव दिएका छन।
सुदूपश्चिम प्रदेशमा पछिल्लो केही साता यता कोरोना परीक्षण कम भएपछि संक्रमणदर समेत घटेको देखिएतापनि जोखिम कायमै रहेको हो।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अहिले सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या पनि करिब डेढ हजार छ। निर्देशनालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेशभर संक्रिय संक्रमितको संख्या १ हजार ४ सय १४ रहेको छ।
उनीहरु मध्ये सबैभन्दा धेरै कैलालीमा ४ सय ८२ संक्रिय संक्रमित छन्। बझाङमा २ सय ३०, डोटीमा १ सय ६२, कञ्चनपुरमा १ सय ३३, डडेल्धुरामा १ सय १६, अछाममा ७०, दार्चुलामा ६३, बाजुरामा ६०, बैतडीमा ५० जना संक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ।
प्रदेशभर हालसम्म १४ हजार २ सय ७७ जनामा कोरोना पुष्टि भएकोमा १२ हजार ४ सय ६८ जना संक्रमण मुक्त भएका छन् भने ७४ जनाको मृत्यु भएको छ।