विदेशी जहाज नल्याउँदा धनगढी विमानस्थलमा जडित भीओआर, डीएमई उपकरणको परीक्षण रोकियो
धनगढीः आकाशमा जहाज उडाउँदा रुट गाइड गर्ने, प्रष्ट रुपमा टाढासम्मको अवस्था देखाउन मद्दत पुगाउने, कम भीजीवीलीटीमा समेत सहजै जहाज उडाउन सकिने र अवतरण गर्न सहज बनाउने प्रविधियुक्त भीओआर,डीएमई उपकरणको जडान गत वर्षको फागुनमा धनगढी विमानस्थलले सम्पन्न गरेको थियो।
हवाइ प्राविधिकहरुको भनाइमा झण्डै १ सय किलोमिटर परसम्मको हवाई मार्गको अवस्थाबारे सहजै जानकारी लिन सकिने यो उपकरण जडान गरेर थन्क्याउँदा रात्रीकालीन सेवा सञ्चालनको प्रतिक्षा पनि पूरा हुन सकेको छैन्। तर धनगढी विमानस्थल कार्यालयले भने भीओआर, डीएमइ उपकरण जडान गरेको १ वर्ष बित्दा समेत परीक्षण उडान गरेको छैन्।
कार्यालय प्रमुख तेजबहादुर बुढथापाकाअनुसार यो उपकरणको परीक्षण उडान गर्न स्वदेशमा उपलब्ध जहाजे हुँदैन्। किनकी यसका लागि छुट्टै खालको प्रविधियुक्त जहाज आवश्यक पर्छ। जुन नेपालमा नभएर विदेशबाट ल्याउनुपर्ने हुन्छ।
बुढथापाले देशका अन्य विमानस्थलमा पनि सो उपकरण जडान भएकाले नागरिक उड्यन प्राधिकरणले विदेशबाट जहाज ल्याएर एकैपटक परीक्षण गर्ने भनेकाले ढिलाइ भएको बताए।
उनकाअनुसार अब चाडै परीक्षण उडान हुनेछ। झण्डै ६ वर्षको प्रयासपछि जापानी अन्तराष्ट्रिय सहयोग नियोग जाइकाले उपकरण जडान गरेको थियो।
यो उपकरण जडान भएपछि प्रतिकुल मौसममा पनि सहजै जहाज उडाउन सकिने विश्वास गरिएका बेला परीक्षण नहुँदा बिहीबार खराब मौसमले कुनैपनि उडान हुन सकेनन्। जसका कारण सयौँ यात्रुहरुले गन्तव्य जानबाट वञ्चित हुनुपरेको थियो।
भीओआर डीएमइ उपकरणले अहिले जडित स्याटेलाइट प्रविधिले भइरहेको १७ सय मिटरको सट्टा १६ सय मिटरको भीजीवीटीको उडान गर्न सकिन्छ। तर उपकरणको परीक्षण गर्न कुनै सुरसारसम्म गरिएको छैन्।
नेपाल नागरिक उड्यन प्राधिकरणले भने जापनिज जनशक्तिले नै त्यो परीक्षणको काम गर्ने भएपनि कोरोनाका कारण स्वदेश फर्किन नपाउँदा ढिलाइ भएको दाबी गरेको छ।
नेपाल नागरिक उड्यन प्राधिकरणबाट धनगढी विमानस्थल हेदै आएका मदन काफ्लेले जापान सरकारले नै कोरोनाका कारण नेपाल आउन प्रतिबन्ध लगाएकाले जनशक्ति झण्डै एकवर्षदेखि उतै रोकिएको बताए।
उनले आउँदो बैशाखसम्म त्यहाँ प्रतिबन्ध कायमै रहेकाले त्यसपछि मात्र उनीहरु नेपाल आउन पाउने बताउँदै सोही बेला परीक्षण गर्ने तयारी रहेको जनाए।
परीक्षणका लागि आवश्यक पर्ने प्रविधियुक्त विदेशी जहाज पनि प्राविधिक टोली आउन तयार भएपछि मात्रै व्यवस्थापन गरिने प्राधिकरणले जनाएको छ।