सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारको सीसी टिभि क्यामरा खरिद टेण्डरको ‘स्पेसिफिकेसन’मै त्रुटि, जडानमा ढिलासुस्ती

२०७७ माघ ९, १२:१९ कमल सावद

धनगढीः सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्षमा कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्म सीसी टिभि क्यामरा जडानका लागि बजेट विनियोजन गरेको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले क्यामरा खरिदका लागि बनाएको स्पेसिफिकेसनमा नै त्रृटि भएकाले ढिलाइ भएको हो। 

प्रदेश सरकारले राजमार्गमा हुने सवारी दुर्घटना र विभिन्न आपराधिक गतिविधि नियन्त्रणमा सघाउ पुग्नेगरि सीसी टिभी क्यामरा जडान गर्न २ करोड २५ लाख बजेट चालु आर्थिक वर्ष २०७७÷०७८ का लागि विनियोजन गरेको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बनाएको स्पेसिफिकेसनमा त्रृटि देखिएपछि खरिद प्रक्रिया समेत लम्बिएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार मन्त्रालयले बताएको स्पेसिफिकेसनमा त्रृटि भएकाले पुनःबनाइएको छ। स्पेसिफिकेसन अथात उपकरणको विशेषता, गुणस्तर मापनबारे बनाएको मापदण्ड नै त्रृटि भएको उनले बताए।

“हामीले स्पेसिफिकेसन बनाएका थियौ। तर त्रृटि भएको रहेछ। पुन बनाएका छौ। राष्ट्रिय पत्रिकामा सुचना प्रकाशन गर्ने तयारीमा छौ,” उनले भने।

क्यामराको गुणस्तर, एक क्यामरादेखि अर्काे क्यामरासम्मको जडान दूरी, क्यामरा जडान गर्ने क्षेत्रको सडक बत्ती लगायतको बिषयको स्पेसिकेशनमा त्रृटि भएको हो।

सीसी टिभि क्यामरा जडानपछि नागरिकको सुरक्षामा सहज हुने प्रहरीका अधिकारीहरुले बताएका छन्। चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि धनगढीसम्म सीसी क्यामरा जडा गरिए दुर्घटना, तस्करी लगायतका आपराधिक गतिविधी नियन्त्रणमा सहयोगी हुने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।

उनले भने, “सीसी क्यामरा जडान भएमा जनशक्ति पनि कम चाहिन्छ। राजमार्ग क्षेत्रको आपराधिक गतिविधि नियन्त्रणमा समेत हामीलाई सहज हुन्छ। धनगढीमा जिल्ला प्रहरी कार्यालयदेखि त्रिनगर–गौरीफन्टासम्म हामीले सीसी टिभि जडान गरेका छौ। पूर्व–पश्चिम राजमार्गमा समेत सीसी क्यामरा जडान भए आपराधिक गतिविधि नियन्त्रणमा हामीलाई सहज हुन्छ, उनले भने।”

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उम्मर क्षेत्रीले सीसी टिभि क्यामरा जडानपछि राजमार्ग क्षेत्रसँगै नागरिकको सुरक्षामा सहज हुने प्रतिक्रिया दिए। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस