सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा प्रधानमन्त्री रोजगार कार्यक्रम : ४ सय ५४ जनाले पाए रोजगारी

२०७७ माघ ९, ०७:२० खबर संवाददाता

धनगढी : बैतडीमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।

जिल्लाको पुर्चौँडी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको हो । जस अन्तर्गत ४ सय ५४ जनाले १ सय दिने रोजगारी पाएका छन् । 

रोजगारी पाएकामध्ये २ सय ९७ महिला र १ सय ५७ जना पुरुष रहेका छन् । छनौट भएकाहरुलाई एक दिने अभिमुखीकरण तालिम दिई ५ गतेदेखि नगरपालिका भित्रका ३० योजना निर्माणमा लगाइएको बताइएको छ । 

उक्त नगरपालिकाका अनुसार त्यहाँका १० वटै वडाहरुले छनौट गरेर पठाएका कमजोर आर्थिक अवस्था भएकाहरुलाई रोजगारमा समावेश गरिएको छ र उनीहरुले दैनिक ५ सय १७ रुपैयाँका दरले पारिश्रमिक पाउने छन् ।

तीन बर्षअघि सञ्चालनमा आएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पहिलो वर्ष २ सय ५८ जना र दोस्रो वर्ष थप ३ सय ८५ जनालाई ३० दिनको रोजगारी दिइएको थियो । 

कमेन्ट लोड गर्नुस