सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका १० ठूला विकासे योजनाको बेहाल, ठेकेदारलाई अझैसम्म कोरोना काल !

सहजपुर–बोगटान सडक खण्ड । फाइल फोटो।
सहजपुर–बोगटान सडक खण्ड । फाइल फोटो।
२०७७ माघ ८, ०५:०१ कमल सावद

धनगढीः चालु वर्षमा कैलालीका ठूला पूर्वाधारका योजनाहरुको वित्तीय प्रगति न्यून रहेको पाइएको छ।

चालु आर्थिक वर्षका ६ महिना बित्दा समेत जिल्लामा कार्यान्वयनमा रहेका ठूला पूर्वाधारका योजनाको काम सुस्त हुँदा वित्तीय प्रगति पनि सोही अनुसार न्यून देखिएको छ। 

जिल्लामा कार्यान्वयन भइरहेका १० ठूला योजनाको प्रगति २० प्रतिशत मात्र रहेको छ। रानी जमरा कुलरिया सिँचाइ आयोजना र सहजपुर बोगटान सडकमा सबैभन्दा कम प्रगति भएको पाइएको छ। तर योजना कार्यालयहरुले भने कोरोना भाइरसको जोखिमका कारण अपेक्षाकृत प्रगति गर्न नसकिएको दाबी गरेका छन्। 

कैलालीमा निर्माणाधिन अवस्थामा रहेको मोहनापुल अत्तरिया ६ लेन सडक योजना, रानीजमरा कुलरिया सिँचाइ योजना, सहजपुर बोगटान सडकलगायतका १० ठूला पूर्वाधारका योजनाका लागि चालु वर्षमा ८ अर्ब ९९ करोड पुँजीगत बजेट स्वीकृत भएको छ। 

तर आधा आर्थिक वर्ष बित्दा कुल बजेटको २० दशमलव १७ प्रतिशत अर्थात एक अर्ब ८१ करोड मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय कैलालीका कोष नियन्त्रक शिव ढुंगानाले बताए।

६ महिनाको वित्तीय प्रगतिलाई हेर्दा २० प्रतिशत मात्र खर्च भएको देखिएकाले थप ८० प्रतिशत बजेट आगामी ६ महिनाभित्र खर्च गर्नुपर्ने देखिएको छ। कृषितर्फ मात्रै १७ लाख विकास बजेट रहेको रानी–जमरा कुलरिया सिँचाइ आयोजनाको प्रगति ६ महिनासम्म शून्य छ। 

तर आयोजना कार्यालयका सूचना अधिकारी दिलिप जंग रानाले १७ लाख मात्र विकास बजेट भएकाले खर्च समेत कम भएको बताए। उनले चालु खर्च बढी भएको तर कोष तथा लेखा नियन्त्रकको कार्यालयको हिसावमा नदेखिने उनले बताए। 

एक अर्ब १५ करोड पूँजीगत बजेट रहेको सहजपुर–बोगटान सडकको वित्तीय प्रगति पनि न्यून छ। चालु आर्थिक वर्षको ६ महिना बित्दा पनि ३ दशमलव २५ प्रतिशत मात्र वित्तीय प्रगति भएको छ।  रुख कटानीको आदेश नभएकाले काम नभएको र वित्तीय प्रगति समेत न्यून भएको आयोजना कार्यालयका प्रमुख उज्वल श्रेष्ठले बताए। उनले वन क्षेत्र नभएको ठाउँमा मात्र काम जारी रहेको बताए। 

२ अर्ब ७१ करोड विकास बजेट रहेको क्षेत्रीय आयोजना कार्यान्वयन इकाईको ४ दशमलव ४८ प्रतिशत, एक अर्ब १३ करोड  पुँजीगत बजेट रहेको संघीय आयोजना कार्यान्वयन इकाईको ३६ दशमलव ६७ प्रतिशत, ५२ करोड ५८ लाख पुँजीगत बजेट रहेको हुलाकी सडक योजना कार्यालयको ३२ दशमलव ८३ प्रतिशत, ४२ करोड पुँजीगत बजेट रहेको मोहनापुल–अत्तरिया ६ लेन सडकको ५६ दशमलव ९१ प्रतिशत, २७ करोड ९८ लाख पुँजीगत बजेट रहेको राष्टपति चुरे तराई मधेश संरक्षण विकास समितिको १४ दशमलव ६३ प्रतिशत, ६३ करोड ६३ लाख बजेट रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको ८ दशमलव ५१ प्रतिशत र २ अर्ब १२ करोड पुँजीगत बजेट रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको ३४ दशमलव ४० प्रतिशत विकास बजेट खर्च भएको छ। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस