सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा पनि मध्यावधि निर्वाचनको तयारी सुरु

२०७७ माघ ८, ०२:५२ खबर संवाददाता

धनगढीः प्रतिनिधिसभा विघटन गर्दै सरकारले मध्यावधि निर्वाचन घोषणा गरेअनुसार कैलालीमा पनि तयारी थालिएको छ। 

सुदूरपश्चिमको राजधानी समेत रहेको कैलालीमा जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अध्यावधिक कार्यक्रमको कार्य तालिका सार्वजनिक गरेको छ। 

जिल्ला निर्वाचन कार्यालयले बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रम मार्फत मतदाता नामावली अध्यावधिक कार्यक्रमको तालिका सार्वजनिक गरेको हो। 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत प्रेमराज भट्टले माघ १५ गते सूचना तथा मतदाता नामावली प्रकाशन गर्ने, १६ र १७ गते प्रकाशित मतदाता नामावलीको त्रुटी सच्याउन सम्बन्धित सहायक नाम दर्ता अधिकारीको कार्यालयमा निवेदन दिने कार्यक्रम रहेको बताए। 

यस्तै माघ १६, १७ र १८ गते एक भन्दा बढि स्थानमा मतदाता नामवली भएकाहरुले एउटै स्थानमा कायम गर्न निवेदन दिन सक्ने, मतदाता नामावलीबाट मृत्यु भएका वा नागरिकता त्यागेकाहरुको नाम हटाउन सूचना दिने, १८ र १९ गते उजुरी परेका मतदातालाई सफाइको मौका दिने कार्यतालिका तय गरिएको प्रमुख निर्वाचन अधिकारी भट्टले बताए। 

निर्वाचन कार्यालयका अनुसार माघ १६ देखि २६ गतेसम्म त्रुटी सच्याउने, मृत्यु भएका मतदाताको नाम हटाउने र दाबी विरोधका कार्यक्रम सम्पन्न गरि माघ २६ गते दिउँसो १ बजे भित्र सच्याइएको मतदाता नामवली प्रकाशन गरिनेछ। 

जिल्लामा हाल २ सय ३१ मतदान स्थल र ५ सय ३४ मतदान केन्द्र रहेकोमा थप ४ वटा मतदान स्थल थप्ने गृहकार्य समेत गरिएको प्रमुख निर्वाचन अधिकारी भट्टले बताए। 

जिल्ला निर्वाचन कार्यालयको तथ्यांकअनुसार कैलालीमा  ५ लाख ४६ जना मतदाता रहेका छन। जसमा २ लाख ५६ हजार २ सय ४ महिला र २ लाख ४३ हजार ८ सय ३२ पुरुष मतदाता रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ। 

कमेन्ट लोड गर्नुस