सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम स्पोर्टस् अवार्डलाई धनगढी उपमहानगरपालिको साथ

२०७७ माघ ७, ०६:२१ खबर संवाददाता

धनगढी : धनगढी उपमहानगरपालिकाले नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्न लागेको सुदूरपश्चिम स्पोर्टस् अवार्डको दोस्रो संस्करणलाई साथ दिएको छ।

धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा स्पोर्टस् अवार्डका लागि बजेट विनियोजन गरेकोमा आगामी चैत ७ गते हुने कार्यक्रमलाई प्रवद्र्धकको रुपमा साथ दिएको हो। 

उपमहानगरपालिकाले पाँचौं नगरसभामार्फत आर्थिक वर्ष २०७७/७८ को बजेटमा स्पोर्टस् अवार्डलाई १ लाख ५० हजार बजेट विनियोजन गरेको थियो। खेलकुद पत्रकार मञ्च कैलालीले आयोजनाको तयारी थालेको दोस्रो संस्करणका लागि धनगढीका उपमहानगरपालिकाका मेयर नृपवहादुर ओड र मञ्चका तर्फबाट महासचिव प्रदीप पाठकले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। 

धनगढी उपमहानगरपालिकाले उपमहानगरको मात्रै नभएर समग्र प्रदेशकै प्रतिनिधित्व गर्ने खेलाडीको हौसला प्रदान गर्न पुरस्कार र सम्मानको व्यवस्था गर्दै आएको मेयर ओडले बताए। 

नेपाल खेलुकद पत्रकार मञ्च कैलालीले अघिल्लो वर्षदेखि सुदूरपश्चिम स्पोर्टस अवार्डको आयोजना गर्दै आएको छ।

चैत ६ गते आयोजना हुने अवार्डको दोस्रो संस्करणको तयारी सुरु भएको छ। २०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ९ विधामा अवार्ड दिइनेछ।

अघिल्लो वर्ष जस्तै यस वर्षपनि उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्डहरू पनि छन्।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजारसहित ट्रफी मेडल र प्रमाण पत्र दिइनेछ। 

यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ। 

अवार्ड कार्यक्रम डिसहोम एक्सन स्पोर्टस र धनगढीका स्थानीय संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने बताइएको छ।

कमेन्ट लोड गर्नुस