सुदूर नेपाललाई विश्वसँग जोड्दै

तेह्रौँ सागका सबै समिति विघटन

२०७७ माघ ७, ०५:५८ रासस

गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकूद (साग) का लागि गठित विभिन्न समिति विघटन गरिएको छ । आयोजक समितिका अध्यक्ष एवं युवा तथा खेलकूदमन्त्री दावा तामाङको अध्यक्षतामा बसेको बैठकले सबै समिति विघटन गर्ने निर्णय गरेको हो । 

तेह्रौँ साग आयोजना तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७६ को परिच्छेद–३ को दफा १०, ११, १२, १४, १५ र १६ अनुसार गठित आयोजक समिति, कार्यकारी समिति, विषयगत समिति, स्थानीय सहजीकरण समिति, उपसमिति, कार्यदल र १३औँ साग कार्यकारी समितिको सचिवालय सोमबारदेखि विघटन गर्ने निर्णय गरिएको हो ।

बैठकले १३औँ सागको सफलताका लागि सम्माननीय राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, नेपाल सरकार मन्त्रिपरिषद् तथा युवा तथा खेलकूद, अर्थ, गृह, रक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश २ लगायत विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थालाई आयोजक समितिका तर्फबाट धन्यवाद ज्ञापन गरिएको राखेप प्रचारप्रसार शाखाले जनाएको छ । 

कूल २६ खेल समावेश १३औँ साग २०७६ मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा सञ्चालन भएको थियो । नेपालले १३औँ सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक प्राप्त गरेको थियो ।

 

कमेन्ट लोड गर्नुस