सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री कप क्रिकेट :कर्णाली र लुम्बिनी विजयी

२०७७ माघ ७, ०५:५३ रासस

चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष क्रिकेटमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश आ–आफ्नो खेलमा विजयी भएका छन् । कर्णालीले गण्डकी प्रदेशलाई पाँच विकेटले तथा लुम्बिनीले प्रदेश–२ लाई ७७ रनले पराजित गरेको छ । 

मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा गण्डकीले दिएको २०५ रनको लक्ष्य कर्णालीले ३६ दशमलव पाँच ओभरमा भेट्टायो । उसका लागि हिमांशु शाहीले ६८, विपीन रावलले ४९, हेमन्त ओलीले २९ तथा राज शाहले ३२ रन बनाए ।

बलिङतर्फ गण्डकीका विपीन खत्रीले चार तथा सुवास भण्डारीले एक विकेट लिए ।  यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकीले ४२ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर २०४ रन बनाएको थियो । 

उसका लागि अर्जुन कुमालले ४६, राहुल उपाध्यायले ५३, कप्तान विपीन खत्रीले ३२, दिनेश बुढामगरले १० तथा विशाल पौडेलले १५ रनको योगदान दिए । बलिङतर्फ कर्णालीका लागि दिनेश अधिकारीले तीन, अनुज चुनारा र दिवान पुनले दुई÷दुई तथा रविन्द्र शाहीले एक विकेट लिए ।

यसैगरी कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अर्को खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै लुम्बिनीले ५० ओभरमा नौ विकेट गुमाएर २५७ रन बनायो । लुम्बिनीका लागि सन्दीप रजाइलीले सर्वाधिक ८३ रन बनाउनुभयो । यस्तै सौरभ खनालले ५६, विक्रम भुषालले ३६, सन्दीप सुनारले ११ तथा कृष्ण कार्कीले १० रन बनाए । 

बलिङतर्फ प्रदेश–२ का हरिशंकर शाहले तीन तथा दिव्यांशु मल्लिकले दुई विकेट लिए । २५८ रनको लक्ष्य पछ्याएको प्रदेश–२ ले ४२ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर १८० रन मात्र बनायो । प्रदेश–२ का लागि सुधीर चौधरीले ४२, हरिशङ्कर साहले २२, मेहबुब आलमले ३१ तथा विवेक यादवले ५१ रन बनाएका थिए । बलिङतर्फ लुम्बिनीका अनिल खरेलले चार, दीपेन्द्र रावतले दुई तथा कृष्ण कार्की, अमित तामाङ र विक्रम भुषालले एक एक विकेट लिए ।

कमेन्ट लोड गर्नुस