सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा प्रेम विवाह गरेको २ दिनमै आत्महत्या, परिवारलाई आएको त्यो अन्तिम कल...

मृतक बिरेन्द्र ऐर
मृतक बिरेन्द्र ऐर
२०७७ माघ ६, ०३:०१ खबर संवाददाता

धनगढीः शनिबार साँझ करिब ७ बजेतिर कञ्चनपुर प्रहरीलाई कृष्णपुर नगरपालिका–२ बाट २८ वर्षीय युवक सम्पर्कविहीन भएको खबर प्राप्त भयो। 

साँझको समयमा हतारिदै जिल्ला प्रहरी कार्यालयमै पुगेका २/३ जना व्यक्तिले प्रहरीलाई युवक सम्र्पकविहीन भएका भन्दै खोजी गरिदिन आग्रह गर्न पुगेका थिए।

सो जानकारीलाई गम्भीर रुपमा लिदै जिल्ला प्रहरी कार्यालयले खोजी कार्यका लागि तत्काल प्रहरी टोली परिचालन गर्यो।

सम्पर्कविहीन हुनअघि युवकले परिवारका सदस्यलाई सम्पर्क गरि भनेका थिए, ‘मैले विषादी सेवन गरे अब म बाँच्दिन होला। सबैजना राम्रोसँग बस्नुहोला।’ त्यसकारण पनि प्रहरी गम्भीर बन्दै सक्रियताका साथ तत्कालै युवकको खोजीमा जुटेको थियो। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार तत्कालै प्रहरीले सम्भावित क्षेत्रमा खोजी सुरु गरेको थियो। 

महेन्द्रनगर, झलारी, दैजी, वाणी लगायतका बजारमा रहेका होटलहरुमा समेत आशंका भरमा प्रहरीले खोजी गर्यो तर युवकको अवस्थाबारे पत्ता लागेन। 

स्थानीय प्रहरी समेत उनको खोजीमा जुटेको थियो सोही क्रममा प्रहरी र स्थानीयले उनलाई नन्दीपुर सामुदायिक वन क्षेत्रमा लडिरहेको अवस्थामा फेला पारे। 

तत्काल उद्दार गरेर स्थानीय वाणी अस्पतालमा पुगाएका कृष्णपुर नगरपालिका–२ कै अन्दाजी २८ वर्षीय बिरेन्द्र ऐरलाई उपचार सम्भव नभएको भन्दै धनगढी रेफर गरियो। तर अन्ततः उनको उपचारका क्रममा धनगढीमै मृत्यु भयो। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा भन्छन्, ‘खबर आउनेबितिकै प्रहरी परिचालन गरेर खोजी कार्य गर्दा गम्भीर अवस्थामा भेटेका ऐरलाई बचाउन सकिन्छ भनेर अस्पतालसम्म पुगायौँ। तर विषादी सेवन गरेको धेरै समय भइसकेका कारण चिकित्सकले प्रयास गर्दा समेत उनलाई बचाउन सकिएन।’   

आखिर ऐरले किन विषादी सेवन गरे? अहिले नै खुलिसकेको छैन। तर ऐरले माघ १ गतेको दिन प्रेम विवाह गरेका थिए। विवाह गरेको २ दिनमै ऐरले आत्महत्याको बाटो रोजेको घटनाले सबैलाई स्तब्ध मात्र हैन अच्चमित पनि बनाएको छ।

स्थानीयका अनुसार युवतीलाई भगाएर ल्याएका ऐरले १ गते कैलालीको गोदावरी धाममा हिन्दु परम्पराअनुसार विवाह गरेका थिए। २ गते इष्टमित्र तथा आफन्तलाई भोज खुवाएका उनी ३ गते घरबाट बेपत्ता भएका थिए। र सोही दिन वेहोस अवस्थामा भेटिएका उनको मृत्यु हुन पुग्यो। 

कृष्णपुर नगरपालिका–२ का वडा सदस्य कासीराम जैसी भन्छन्, ‘आफन्तलाई फोन गरेर ऐरले आफू विषादी सेवन गरि मर्न लागेको भनेर जानकारी गराएका रहेछन्। तर उनले विवाह  गरेको दोस्रो दिनमै किन आत्महत्याको बाटो रोजे अहिलेसम्म खुल्न सकेको छैन।’

केही समयदेखि युवतीसँग प्रेम सम्बन्धमा रहेका ऐरले मागी विवाह गर्ने योजना बनाएका थिए तर केटी पक्षले अर्को वर्ष (२०७८सालमा) विवाह गर्ने भनेपछि उनले युवतीलाई भगाएर ल्याएका थिए। 

अहिले ऐरसँग विवाह गरेकी युवतीलाई आफन्तको जिम्मा लगाइएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सो घटनाको अनुसन्धान भइरहेको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस