सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतले जित्यो अष्ट्रेलियाविरुद्धको टेष्ट सिरिज

२०७७ माघ ६, ०१:४६ खबर संवाददाता

काठमाडौंः अष्ट्रेलियाविरुद्धको चार म्याचको सिरिज भारतले जितेको छ।

ब्रिसबेनमा मंगलबार अन्तिम तथा निर्णायक टेष्टमा अष्ट्रेलियालाई ३ विकेटले पराजित गर्दै भारतले सिरिज २–१ ले जितेको हो।

टेस्टको चौंथो दिन सोमबार अष्ट्रेलिया दोस्रो इनिङ्समा २ सय ९४ रनमा अलआउट भएपछि भारतले जितका लागि ३ सय २८ रनको लक्ष्य पाएको थियो।

  उक्त लक्ष्य भारतले अन्तिम दिन ७ विकेट गुमाएर भेट्टयो। भारतको जितमा शुभमन गिल र ऋषभ पन्तले शानदार पारी खेले। गिलले ९१ र पन्तले नटआउट ८९ रन बनाए।

यस्तै, चेतेश्वर पुजाराले ५६, कप्तान अजिन्का रहानेले २४, वासिङ्गटन सुन्दरले २२ रनको योगदान दिए।

अष्ट्रेलियाका प्याट कमिन्सले ४ विकेट लिँदा नाथन लायनको नाममा २ विकेट रह्यो।

दोस्रो इनिङ्समा अष्ट्रेलियाका स्टिभ स्मिथले ५५, डेभिड वार्नरले ४८ र मार्कुस हारिसले ३८ रन बनाए।

भारतका मोहमद सिराजले ५ तथा शार्दुल ठाकुरले ४ विकेट लिए।

भारतले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय ३६ रन बनाएको थियो।

भारतका लागि शार्दूल ठाकुरले ६७ र वासिङ्टन सुन्दरले ६२ रन बनाए। रोहित शर्माले ४४, मायांक अग्रवालले ३८, कप्तान अजिंका रहाने ३७ रनमा आउट भए।

अष्ट्रेलियाका जोस हाजलउडले ५ विकेट लिए। पाट कमिन्स र मिचेल स्टार्कले २–२ विकेट लिए ।

यस्तै अष्ट्रेलिया पहिलो इनिङ्समा ३ सय ६९ रन जोड्दा अलआउट भयो।

अष्ट्रेलियाका लागि मार्नस लाबुसेनले शतक बनाए। लाबुसेन १ सय ८ रन बनाएर आउट भए।

कप्तान टिम पेनले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा क्यामरुन ग्रिनले ४७, स्टिभ स्मिथले ३६ र म्याथ्यु वेडले ४५ रन जोडे।

नाथन लायन २४ रनमा आउट हुँदा मिचेल सतर्क २० रनमा अविजित रहे।

भारतका टी नटराजन र सार्दुल ठाकुरले ३–३ विकेट लिए।

कमेन्ट लोड गर्नुस