सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकपटक निको भएपछि कम्तिमा पाँचमहिना लाग्दैन कोरोना

२०७७ माघ ६, ०६:१७

कोभिड–१९ बाट संक्रमित भइसकेका मानिसहरुले कम्तीमा पनि पाँच महिनासम्म इम्युनिटी प्राप्त गर्न सक्ने बेलायती स्वास्थ्यविद्हरुको नयाँ रिसर्चले देखाएको छ तर सँगसँगै शरीर भित्र एन्टिबडिज भएपनि ती संक्रमितहरुले आफूभित्रको भाइरस अरुलाई फैलाउन सक्ने पत्ता लागेको हो । 

‘पब्लिक हेल्थ इङ्ल्यान्ड , पीएचइ’ का वैज्ञानिकहरुको प्रारम्भिक खोजमा फेला परे अनुसार भाइरसबाट संक्रमित भइसकेपछि कोरोनाको एन्टिबडिज हुने व्यक्तिहरुमा पुनः संक्रमणको जोखिम अत्यन्तै कम या दुर्लभ हुने गर्दछ । यसमा ६ हजार ६१४ जना पूर्वसंक्रमितहरुको अध्ययन गर्दा ४४ मात्र त्यस्ता दुर्लभ केस फेला पारिएको हो । 

तर अर्कोतर्फ यही रिसर्चले २०२० महामारीको सुरुवातमा संक्रमित भएका मानिसहरु अहिले फेरि यो रोगमाझ संवेदनशील बन्न पुगेको पनि चेतावनी दिएको छ । 

स्वास्थ्यविद्हरुले, कोरोनाबाट संक्रमित भइसकेपछि बिरामीले प्राप्त गर्ने ‘प्राकृतिक इम्युनिटी’ का बावजुद उनीहरुले सार्स–कोभ–२ भाइरस नाक र घाँटीमा बोकिरहेको हुने हुँदा थाहा नपाइ अरुलाई सार्न सक्ने भएकाले सबैलाई सतर्क रहन भनेका हुन् । 

पीएचइकी वरिष्ठ मेकिडल सल्लाहकार, सुसन होप्किन्सले भनेकी छन्, “हामीलाई अब के थाहा भयो भने, जो पहिले भाइरसबाट संक्रमित भएका थिए उनीहरुको शरीरमा विकसित एन्डिबडिजले तिनलाई पुनःसंक्रमणबाट बचाउनेछ तर यसमा धेरै कुरा अझै निश्चित छैन, किनकी हामीलाई सो सुरक्षा कतिन्जेल रहनेछ भन्ने थाहा भइसकेको छैन । 

त्यसैले एकपटक कोभिडले बिरामी परिसकेपछि फेरि संक्रमित नहुनेमा हामी ढुक्क भएर बस्ने गरेतापनि अरुलाई सर्न सक्ने जोखिमबारे चाहिँ सचेत रहनुपर्छ । ”

‘साइरेन’ नामक यो रिसर्चमा बेलायतभरका दशौँ हजार स्वास्थ्यकर्मीहरुलाई सहभागी गराइएको थियो । उनीहरुको गत जुनदेखि नै नियमित कोरोना परीक्षण गरिएको हो भने शरीरको एन्टिबडिजबारे पनि निरन्तर डाटा लिइएको छ । 

यसमा जुन १८ र नोभेम्बर २४ का बीच वैज्ञानिकहरुले ६ हजार सहभागीमा ४४ सम्भावित पुनःसंक्रमण र ४२ अनुमानित संक्रमण फेला पारेका हुन् । यसले पुनः संक्रमणबाट ८३ प्रतिशत सुरक्षा हुनेको प्रतिनिधित्व गर्दछ । 

हाल अनुसन्धानकर्ताहरुले यो रिसर्च जारी राख्ने र सहभागीहरुको लगातार परीक्षण गरिरहने बताएका छन् जसपछि प्राकृतिक इम्युनिटी ५ महिना भन्दा लामो समय रहन सक्छ–सक्दैन भन्ने जानकारी दिलाउनेछ ।

तर उनीहरुले फेरिपनि इम्युनिटी भएका मानिसहरुले उच्च स्तरमा आफूसँग भाइरस बोकी अरुमा फैलाउन सक्ने चेतावनी दिएका हुन् । यसकारण नै संक्रमित भइसकेकाहरुले ठीक भएपछि पनि सावधानीका उपाय अपनाइरहन महत्वपूर्ण मानिएको छ । एजेन्सी 
 

कमेन्ट लोड गर्नुस